Loading

सान्नीत्रिवेणी गाउँपालिकाको वार्षिक वित्तीय प्रगति ८२ प्रतिशत बढी, अध्यक्ष केसीद्वारा धन्यवाद ज्ञापन

सान्नीत्रिवेणी गाउँपालिकाको वार्षिक वित्तीय प्रगति ८२ प्रतिशत बढी, अध्यक्ष केसीद्वारा धन्यवाद ज्ञापन

कालीकोट २७ असार । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गर्दै उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ। निर्धारित समयसीमाभित्रै वित्तीय कारोबारहरू सु-सम्पन्न भएको सुखद अवसरमा गाउँपालिकाले सम्पूर्ण सान्नीत्रिवेणीबासीलाई बधाई दिँदै धन्यवाद ज्ञापन पत्र सार्वजनिक गरेको हो।

गाउँपालिकाद्वारा सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षमा सान्नीत्रिवेणीको कुल स्वीकृत बजेट ४५ करोड ५ लाख २४ हजार ३ सय ४६ रुपैयाँ ५३ पैसा रहेको थियो। जसमध्ये कुल ३७ करोड १४ लाख ७६ हजार २५८ रुपैयाँ खर्च भई समग्र वित्तीय प्रगति ८२.४५ प्रतिशत हासिल भएको छ।

बजेट र योजनाहरूलाई सफल रूपमा कार्यान्वयन गर्न ठूलो सहयोग पुर्‍याउने सम्पूर्ण जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरू, राजनीतिक दलहरू, सुरक्षा निकाय, गैरसरकारी संघ-संस्थाहरू, निर्माण व्यवसायी, उपभोक्ता समिति र आम सान्नीत्रिवेणीबासीप्रति गाउँपालिकाले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीद्वारा जारी विज्ञप्तिमा आगामी आर्थिक वर्षहरूमा पनि यस्तै वित्तीय सुशासन, आर्थिक पारदर्शिता, गुणस्तरीय सेवा र दिगो पूर्वाधार विकासका कार्यहरूमा आपसी सहकार्य र एकतालाई निरन्तरता दिने संकल्प गरिएको छ।

बद्लिएको नयाँ परिस्थितिलाई मध्यनजर गर्दै जनताको दैनिक सेवा प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाउन सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू एकताबद्ध भएर समृद्ध सान्नीत्रिवेणी निर्माणको महाअभियानमा होमिन प्रतिबद्ध रहेको समेत अध्यक्ष केसीले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार