कालीकोट २६ असार । कालीकोट जिल्लाको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ। गाउँपालिकाले तोकिएको निर्धारित समयावधि भित्र पेश हुन आएका सम्पूर्ण कारोबारहरूको भुक्तानी खर्च तथा लेखाङ्कन कार्य सफलतापूर्वक सम्पन्न गरेको हो।

गाउँपालिकाद्वारा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यस अवधिमा पचालझरनाको समग्र वित्तीय प्रगति ७८.७८ प्रतिशत रहेको छ। जसमध्ये विकासतर्फ (पूँजीगत) ६५.९ प्रतिशत र प्रशासनिक तथा सेवा सञ्चालनतर्फ (चालु) ८५ प्रतिशत बजेट खर्च भएको छ।
यस अवधिभर बजेट निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू लगायत सम्पूर्ण जनप्रतिनिधिहरू प्रति गाउँपालिकाले आभार व्यक्त गरेको छ। साथै, बजेट कार्यान्वयनमा निरन्तर खटिने सम्पूर्ण शाखा प्रमुख, राष्ट्रसेवक कर्मचारीहरू, उपभोक्ता समिति, निर्माण व्यवसायी, सञ्चारकर्मी र नागरिक समाज सहित सम्पूर्ण गाउँबासीलाई धन्यवाद ज्ञापन गरिएको छ।
गाउँपालिकाले आगामी आर्थिक वर्षहरूमा समेत बजेट तथा कार्यक्रम कार्यान्वयनमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिता, समन्वय र सहकार्यको अपेक्षा राख्दै रचनात्मक सुझावका लागि आह्वान गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश सापकोटा र लेखापाल चक्र खनालद्वारा प्रमाणित गरिएको यो प्रगति विवरणले पचालझरना गाउँपालिकाको वित्तीय पारदर्शिता र योजना कार्यान्वयनको अवस्थालाई प्रष्ट पारेको छ।