सुर्खेत २४ असार । कर्णाली प्रदेशको शान्ति सुरक्षा र अपराध अनुसन्धान प्रणालीलाई अझ चुस्त एवं प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सुर्खेतमा विशेष अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ। ‘क्राइम एक्शन प्लान’ (CAP IV) अन्तर्गत नेपाल प्रहरीको उच्च टोलीले जिल्लाका मुख्य प्रहरी एकाइहरूको स्थलगत निरीक्षण गरेको हो।
निरीक्षण भ्रमणको सिलसिलामा नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश (हाल नेपालगन्ज, बाँके) का प्रहरी वरिष्ठ उपरीक्षक (SSP) राजिब बहादुर बस्नेतसहितको विशेष प्रहरी टोली सुर्खेत आइपुगेको थियो। टोलीले जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुको विस्तृत वस्तुस्थिति र कार्यसम्पादनको मूल्याङ्कन गरेको छ।
एसएसपी बस्नेत नेतृत्वको टोलीले प्रहरी कार्यालयहरूभित्र रहेका अपराध अनुसन्धान र अभिलेख व्यवस्थापन शाखा, नागरिक संवेदनशील मानिने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, र हिरासत कक्ष लगायतको गम्भीरतापूर्वक अनुगमन तथा निरीक्षण गरेको थियो। भौतिक पूर्वाधार, अभिलेखको दुरुस्तता र सेवाग्राहीप्रतिको व्यवहारलाई टोलीले नजिकबाट नियालेको छ।
निरीक्षण पश्चात् आयोजित विशेष ब्रिफिङका क्रममा एसएसपी बस्नेतले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीहरूलाई परिणाममुखी काम गर्न आवश्यक निर्देशन दिनुभयो। आधुनिक प्रविधिको प्रयोग गर्दै अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउन र पीडितलाई छिटोभन्दा छिटो न्यायको अनुभूति दिलाउने गरी व्यावसायिक निष्ठाका साथ खटिन उहाँले निर्देशन दिनुभएको हो।
प्रहरीको यो उच्चस्तरीय सक्रियता र नियमित अनुगमनले जिल्लाको शान्ति सुरक्षालाई थप बलियो बनाउनुका साथै नागरिक र प्रहरीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।