सुर्खेत/डोल्पा १९ असार। धेरै अगाडि नै निर्माण सम्पन्न भइसक्नुपर्ने राष्ट्रिय गौरवको आयोजना ‘भेरी–बबई डाइभर्सन’ लाई अब ढिलो नगरी तत्काल अगाडि बढाउने प्रयास स्वरूप ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले फिल्डमै पुगेर विशेष सक्रियता देखाएको छ। आयोजनाको प्रगति र चुनौतीबारे सरोकारवालाहरूको उपस्थितिमा विस्तृत प्रस्तुति र सार्वजनिक सुनुवाइ गरिए लगत्तै मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गरेको हो। ऊर्जा मन्त्री, जनप्रतिनिधि, सिँचाइ विभाग, आयोजनाका कर्मचारी, निर्माण कम्पनी र स्थानीय बासिन्दासँग फिल्डमै बसेर नतिजामुखी विमर्श गरिएको छ।
बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने र ४६ मेगावाट जलविद्युत उत्पादन गर्ने यो बहुप्रतीक्षित एकीकृत परियोजनाले कर्णाली र लुम्बिनीको समृद्धिको ढोका खोल्नेछ। कर्णालीको सिँचाइ र विद्युत मागलाई सम्बोधन गर्दै भविष्यमा यो प्रोजेक्टको मर्मतसम्भार र सञ्चालन कार्यलाई पूर्ण रूपमा आत्मनिर्भर र स्वायत्त बनाउने लक्ष्य राखिएको छ।
१०६ मेगावाटको जगदुल्ला आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
यसैबीच, कर्णाली प्रदेशको ऊर्जा विकासमा अर्को ठूलो फड्को मार्दै डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको ‘जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना’ को मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित एक विशेष कार्यक्रमका बीच बिहीबार सुरुङ निर्माणको औपचारिक शुभारम्भ गर्नुभएको हो।
सुरुङ निर्माणको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको आर्थिक विकासका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो। आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्नका लागि तीनै तहका सरकार, स्थानीय समुदाय तथा सरोकारवालाहरूबीच निरन्तर सहकार्य र सक्रियता आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो।