मान्मा कालीकोट १९ असार । सुर्खेतबाट कालीकोट आउँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको २४ घण्टा बितिसक्दा पनि राज्यको संयन्त्र पूर्ण रूपमा असफल र लाचार देखिएको छ। दुर्घटना भएको यतिका समय बितिसक्दा पनि गाडीमा कति यात्रु सवार थिए भन्ने यकिन तथ्याङ्क न त प्रशासनसँग छ, न त नदीमा डुबेको गाडी नै फेला पर्न सकेको छ।
सुर्खेतबाट दुर्घटनास्थल दैलेखको साङ्गेतडा पुग्दासम्म सडकमा आधा दर्जन प्रहरी चेकपोस्टहरू छन्, जहाँ प्रत्येक सवारी र यात्रुको विवरण अनिवार्य दर्ता (इन्ट्री) गर्नुपर्ने नियम छ। तर, ती चेकपोस्टहरू केवल औपचारिकता र असुलीका अखडा मात्र हुन् भन्ने पुष्टि यस घटनाले गरेको छ। आधा दर्जन ठाउँमा इन्ट्री गराएर हिँडेको गाडीमा कति नागरिक सवार थिए भन्नेसम्म जानकारी राख्न नसक्ने गृह प्रशासनको यो भन्दा ठूलो गैरजिम्मेवारीपन अरू के हुन सक्छ?
उद्धारमा कछुवा गति, निरीह गोताखोर टोली
विपद् व्यवस्थापन र नागरिकको जीउधनको सुरक्षाको चर्को नारा दिने सरकारको उद्धार गति कति कछुवा जस्तो छ भन्ने यसले देखाउँछ। हिजो बिहान ११:३० बजे नदीमा खसेको गाडी र त्यहाँ डुबेका नागरिक खोज्न २४ घण्टासम्म पनि सरकारी टोली अक्षम साबित भएको छ। एक जनाको शव भिरमा भेटिनु बाहेक अन्य यात्रु जिउँदै छन् कि बगिसके भन्नेमा सिंगो राज्य बेखबर र मूकदर्शक बनेको छ।
कर्णाली राजमार्ग दिनदिनै ‘मृत्युमार्ग’ मा परिणत भइरहँदा, सडक सुरक्षा र चुस्त ट्राफिक निगरानी बढाउनुको साटो प्रशासन केवल दुर्घटनापछिको लाचारी र अकर्मण्यता प्रदर्शन गर्नमै सीमित देखिएको छ।