दैलेख १८ असार। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतरामा आज दिउँसो एउटा यात्रुवाहक फोर्स माइक्रो गाडी दुर्घटना भई कर्णाली नदीमा खसेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेर नदीमा डुबेको हो।
दुर्घटनामा परेको उक्त गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदीले चलाएको खुलेको छ। प्रारम्भिक जानकारी अनुसार चालक सुवेदीसहित गाडीमा कुल ५ जना यात्रुहरू सवार रहेका थिए।
घटनास्थलमा खटिएको नेपाल प्रहरी र स्थानीय उद्धार टोलीले तीव्र रूपमा खोजी कार्य अघि बढाएका छन्। अहिलेसम्म भिरको अप्ठ्यारो खोच र नदी आसपासबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ। गाडी नदीमा पूर्ण रूपमा डुबेकाले अन्य बेपत्ता सवार यात्रुहरूको खोजी तथा उद्धार कार्य निरन्तर जारी राखिएको छ। दुर्घटनाको मुख्य कारण र अन्य यात्रुहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।