Loading

सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजामा पञ्चदेव मावि कर्णालीमै प्रथम

सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजामा पञ्चदेव मावि कर्णालीमै प्रथम

-प्रकाश बराल

कालीकोट १६ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत सञ्चालित डिप्लोमा/पीसीएल तह सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजामा पञ्चदेव माध्यमिक विद्यालय प्रथम भएकाे छ । सार्वजनिक गरिएको नतिजा विवरण (Result Summary) अनुसार विद्यालयले ६४.७१ प्रतिशत उत्तीर्ण दर हासिल गर्दै  साविक कर्णाली  प्रदेशका अन्य सबै शैक्षिक संस्थालाई पछि पारेको हो।

कर्णाली प्रदेशका विभिन्न आठ वटा शैक्षिक संस्थाहरूमा पनि यो विषय अध्यापन गराइँदै आएको छ। नतिजा अनुसार जन मोडल माध्यमिक विद्यालय, वीरेन्द्रनगर–सुर्खेत ४७.६२ प्रतिशत सहित दोस्रो र सहिद नेत्रलाल पोलिटेक्निक इन्स्टिच्युट, सल्यान २६.६७ प्रतिशतसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसै गरी कर्णाली टेक्निकल स्कुल, जुम्ला २४.३९ प्रतिशत, पञ्चकोशी पोलिटेक्निक इन्स्टिच्युट, दैलेख ९.३८ प्रतिशत र वीरेन्द्र हिमालय माध्यमिक विद्यालय, जाजरकोट ४ प्रतिशत उत्तीर्ण दरसहित क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा रहेका छन्। यस पटकको परीक्षामा जाजरकोट पोलिटेक्निक इन्स्टिच्युट तथा कृष्ण संस्कृत एण्ड जनरल माध्यमिक विद्यालय, सुर्खेतबाट भने कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

पञ्चदेव माध्यमिक विद्यालयको यो ऐतिहासिक उपलब्धिलाई विद्यालयको पुरानो विरासतसँग जोडेर हेरिएको छ। साविक कर्णाली अञ्चलकै पहिलो उच्च माध्यमिक विद्यालयका रूपमा परिचित पञ्चदेव माविले विगतदेखि नै शैक्षिक क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ। सामान्य शिक्षामा मात्र नभई पछिल्ला वर्षहरूमा प्राविधिक तथा व्यावसायिक शिक्षामा समेत विद्यालयले उल्लेखनीय प्रगति गर्दै आएको यस नतिजाले पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार