कालीकोट १६ असार। जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले नियम विपरीत सवारी साधनको झ्यालमा कालो प्लास्टिक टाँस्ने र स्वीकृतिको बिना स्वरूप परिवर्तन गर्ने चालक तथा सवारी धनीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै कानुनी व्यवस्थाको पूर्ण पालना गर्न सम्बद्ध सबैमा आग्रह गरेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक नन्द बहादुर बिष्टद्वारा जारी गरिएको आधिकारिक सूचनाअनुसार पछिल्लो समय कतिपय निजी तथा सार्वजनिक सवारी धनी र चालकहरूले आफूखुसी सवारीको झ्यालका सिसाहरूमा कालो प्लास्टिक टाँसेर झ्याल अपारदर्शी बनाउने गरेको पाइएको छ। ट्राफिक प्रहरीले अब उप्रान्त त्यस्ता नियम विपरीतका कार्यहरू नगर्न र नगराउन कडा निर्देशन दिएको छ।

त्यसै गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ को कानुनी व्यवस्थालाई स्मरण गराउँदै आधिकारिक निकायबाट स्वीकृति नलिई सवारीको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुने गरी हेरफेर गर्न नपाइने व्यवस्थाबारे समेत सचेत गराइएको छ। यदि कसैले नियम उल्लंघन गरी सवारी साधनमा यस्ता परिवर्तनहरू गरेको पाइएमा ऐन बमोजिम कडा कानुनी कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले जनाएको छ।