Loading

कालीकोट जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित: उत्कृष्ट स्वास्थ्य शाखा र कर्मचारी सम्मानित

कालीकोट जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषित: उत्कृष्ट स्वास्थ्य शाखा र कर्मचारी सम्मानित

कालीकोट १४ असार । कालीकोट जिल्लालाई एक भव्य समारोहका बीच औपचारिक रूपमा ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्णखोप समन्वय समितिको अगुवाइमा वडा र पालिका तह हुँदै प्रक्रिया पूरा गरेर आइतबार जिल्लालाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरिएको हो।

प्रत्येक वर्ष १५ महिनाभित्रका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै प्रकारका खोपहरु प्राप्त गरेको सुनिश्चित गरेपछि मात्रै जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गर्ने कानुनी प्रावधान रहेको छ। सोही अनुसार कालीकोटका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि यो घोषणा गरिएको हो।

जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति (जिसस) का प्रमुख धनजित बहादुर शाहीको अध्यक्षतामा घोषणा सभा सम्पन्न भएको थियो। कार्यक्रममा प्रादेशिक पूर्णखोप समन्वय समिति (PFICC) का सदस्य एवं स्वास्थ्य सेवा निर्देशनालयका जनस्वास्थ्य अधिकृत (खोप कार्यक्रम संयोजक) ओम प्रकाश पौडेलको विशेष आतिथ्यता रहेको थियो। उक्त ऐतिहासिक अवसरमा जिल्ला पूर्णखोप समन्वय समिति (DFICC) का पदाधिकारीहरू, सरकारी तथा गैरसरकारी संघ-संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सञ्चारकर्मी, स्वास्थ्य सेवा कार्यालयका कर्मचारी र गाउँ-गाउँमा खटिने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको ठूलो उपस्थिति रहेको थियो।

स्वास्थ्य शाखा र उत्कृष्ट कर्मचारी सम्मानित

घोषणा समारोहमा खोप अभियानलाई सफल बनाउन अहोरात्र खटिएका जिल्लाका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। यसै गरी खोप सेवाको क्षेत्रमा लामो समयदेखि महत्त्वपूर्ण र उल्लेखनीय योगदान पुर्‍याए बापत जिल्लाकै सबैभन्दा ज्येष्ठ कर्मचारी जनस्वास्थ्य अधिकृत कटक बहादुर महत र कोल्डचेन सहायक जीवन सहकारीलाई विशेष प्रशंसा पत्र प्रदान गरिएको थियो। समारोहलाई थप उत्साहजनक बनाउन विभिन्न साहित्यिक रचना वाचनका साथै सचेतनामूलक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो।

जिल्लालाई पूर्णखोप सुनिश्चितता र यसको दिगोपना कायम राख्न अनवरत रूपमा कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, पालिका तथा वडा खोप समन्वय समिति र आम सञ्चारकर्मीहरूलाई जिल्ला पूर्णखोप समन्वय समितिले विशेष धन्यवाद समेत ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार