कालीकोट १३ असार । कालीकोटको महावै गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यको औपचारिक रूपमा शिलान्यास गरिएको छ। शनिबार एक विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जग पूजा गरी भवनको शिलान्यास गर्नुभएको हो। लामो समयदेखि अस्थायी तथा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको महावै गाउँपालिकाले अब आफ्नै सुविधासम्पन्न प्रशासनिक संरचना निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ।
भवनको शिलान्यास गर्नुहुँदै गाउँपालिका अध्यक्ष सिंहले आफ्नै प्रशासकीय भवन निर्माण भएसँगै गाउँपालिकाबाट प्रवाह हुने सेवा थप व्यवस्थित, प्रभावकारी तथा सेवाग्राहीमैत्री बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भवन निर्माण कार्यलाई तोकिएको समयभित्रै र उच्च गुणस्तरका साथ सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो। यस गौरवको आयोजनालाई समयमै सम्पन्न गराउन स्थानीय बासिन्दाहरूको तर्फबाट पनि रचनात्मक सहयोगको आवश्यक रहेको उहाँको भनाइ थियो।
यसै गरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले नयाँ प्रशासकीय भवनको निर्माणले गाउँपालिकाको संस्थागत विकास र सुशासन प्रवर्द्धनतर्फ महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताउनुभयो। भवन समयमै सम्पन्न भए स्थानीय तहको सेवा प्रवाह अझ सहज र गुणस्तरीय बन्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।
यस्तो बन्नेछ भवन (लागत र सम्झौता विवरण):
महावै गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीका अनुसार नयाँ बन्ने प्रशासनिक भवन कुल ३२ वटा कोठासहित साढे दुई तलाको आधुनिक र सुविधासम्पन्न हुनेछ। यस भवन निर्माणका लागि कुल ५ करोड ५१ लाख ८४ हजार रुपैयाँको लागतमा ‘अभिनाश आशीष पूर्ण जेभी’ सँग ठेक्का सम्झौता गरिएको छ। निर्माण कम्पनीले गत २०८३ वैशाख १५ गते नै ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा काम सुरु गरिसकेको छ। सम्झौता अनुसार उक्त भवन आगामी २०८४ साल असार १५ गतेभित्र निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने छ।
बजेटको स्रोत र साझेदारी:
यो भवन संघीय सरकार र स्थानीय सरकारको संयुक्त साझेदारीमा निर्माण हुन लागेको हो। जसमा संघीय सरकार अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको ६० प्रतिशत र महावै गाउँपालिकाको ४० प्रतिशत लगानी रहने इन्जिनियर शाहीले जानकारी दिनुभयो। नयाँ भवन बनेसँगै महावैका नागरिकले एउटै थलोबाट झन्झटरहित रूपमा स्थानीय सरकारको सेवा पाउने अपेक्षा गरिएको छ।