कालीकोट १२ असार । कालीकोट र दैलेख जिल्लालाई सहज यातायात सञ्जालमा जोड्दै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा दूरगामी महत्त्व राख्ने ‘माथिल्लो डुङ्गेश्वर–दुल्लु–डाँडिमाडी–व्याउली–पान्तडी सडक’को द्रुत स्तरोन्नतिका लागि दुई जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरूबीच ऐतिहासिक सहमति भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका र दैलेखको भैरवी गाउँपालिकाको संयुक्त आयोजनामा माथिल्लो डुङ्गेश्वरमा सम्पन्न एक महत्त्वपूर्ण र मैत्रीपूर्ण सद्भाव बैठकले सडक पूर्वाधार विकासमा नयाँ राजनीतिक तथा प्रशासनिक मार्गचित्र तय गरेको हो।
प्रादेशिक सडकको रूपमा विकास गरिने
बैठकले दुई जिल्ला र पालिका जोड्ने यस रणनीतिक सडकलाई छिटोभन्दा छिटो स्तरोन्नति (अपग्रेड) गरी ‘प्रादेशिक सडक’को रूपमा विकास गर्ने सर्वसम्मत निर्णय गरेको छ। यस सडकले पूर्णता पाएमा कालीकोटको शुभकालिका र आसपासका क्षेत्रबाट दैलेख हुँदै प्रदेश राजधानी सुर्खेत र नेपालगन्जसम्मको यात्रा निकै छोटो, सुरक्षित र सहज हुने विश्वास लिइएको छ। प्राविधिक जटिलता र बजेट व्यवस्थापनका लागि सडक डिभिजन र प्रदेश सरकारसँग संयुक्त रूपमा पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ।
सीमा क्षेत्र भोटेगढीमा साझा लगानीको आधुनिक गेट
दुई पालिका र जिल्लाबीचको आपसी सम्बन्ध, भ्रातृत्व र पर्यटन प्रवर्द्धनलाई थप मजबुत बनाउन कालीकोट र दैलेखको सीमा क्षेत्रमा पर्ने ऐतिहासिक स्थल भोटेगढीमा एक भव्य र आधुनिक स्वागतद्वार (गेट) निर्माण गरिने भएको छ। उक्त गेट निर्माणका लागि शुभकालिका गाउँपालिका र भैरवी गाउँपालिकाले संयुक्त रूपमा साझेदारी र लगानी गर्ने महत्त्वपूर्ण निर्णय गरेका छन्। यसका साथै सीमा व्यवस्थापन र आपसी हितका अन्य विविध विषयमा आगामी दिनमा पनि निरन्तर सहकार्य र समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता दुवै पक्षले व्यक्त गरेका छन्।
बैठकमा उच्च राजनीतिक र प्रशासनिक नेतृत्वको उपस्थिति
अन्तर-जिल्ला समन्वय र विकासका लागि कोशेढुङ्गा मानिएको उक्त बैठकमा संघीय संसद्देखि स्थानीय तहसम्मको उच्च नेतृत्वको सहभागिता रहेको थियो। बैठकमा दैलेख क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य लक्ष्मी प्रसाद पोखरेल, संविधानसभा सदस्य राज बहादुर बुढा, जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशव बहादुर शाही, नेपाली कांग्रेस दैलेखका जिल्ला सभापति मणिराम रेग्मी र नेकपा एमाले दैलेखका अध्यक्ष सूर्य बहादुर शाहीको विशेष उपस्थिति रहेको थियो।
त्यस्तै, आयोजक पालिकाका तर्फबाट शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्य, भैरवी गाउँपालिकाका अध्यक्ष रीता शाही, उपाध्यक्ष देवी भण्डारी, भैरवीका पूर्व अध्यक्ष प्रेम बहादुर बुढा, शुभकालिकाका कार्यपालिका सदस्य मानसिंह घर्ती, नेकपा प्रदेश सदस्य जय बहादुर महतारा, नेताहरू चक्र आचार्य, अन प्रसाद आचार्य, मिम बहादुर शाहीलगायतको सहभागिता थियो। आयोजनालाई प्राविधिक रूपमा सवल बनाउन सडक डिभिजनका डिभिजनल इन्जिनियर (डीई) रूपेश केसी, खानेपानी इन्जिनियर सुरेन्द्र कुमार शर्मा र भैरवीका प्रमुख प्रशासकीय अधिकृत पूर्णनाथ योगीको समेत बैठकमा महत्त्वपूर्ण उपस्थिति रहेको थियो।
बैठक समापन गर्दै शुभकालिका गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद आचार्यले दुई पालिकाको यो संयुक्त प्रयासले कर्णालीको ग्रामीण विकासमा नयाँ आयाम थप्ने दाबी गर्दै ऐतिहासिक निर्णयहरू सफलतापूर्वक कार्यान्वयन हुनेमा दृढ विश्वास व्यक्त गर्नुभएको छ।