कालीकोट ११ असार । कर्णाली प्रदेशको विकट तथा पर्यटकीय र उत्पादनका दृष्टिले प्रचुर सम्भावना बोकेको कालीकोट जिल्लाको पलाँता गाउँपालिकाले आफ्नो नीति, कार्यक्रम तथा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर रोकायाको सभाअध्यक्षतामा रानीबिसौनामा सम्पन्न ऐतिहासिक १८ औं गाउँसभा अधिवेशन (बजेट अधिवेशन) ले “स्वच्छ, समृद्ध र सुसंस्कृत पलाँता” को मूल नारालाई आत्मसात् गर्दै नीति तथा कार्यक्रम पारित गरेको हो।
गाउँसभाले आगामी आर्थिक वर्षका लागि संघीय सरकार, प्रदेश सरकार र आन्तरिक स्रोत समेत गरी कुल रु. ५१ करोड ६९ लाख ९३ हजार ९१ रुपैयाँ ८० पैसा को आय-व्यय (बजेट) सर्वसम्मत पारित गरेको छ ।
गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकायाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले आफ्नो दोस्रो कार्यकालको ४ वर्ष पूरा भइरहँदा संघीय र प्रदेश सरकारसँगको समन्वयमा पालिकाले थुप्रै ऐतिहासिक र भौतिक उपलब्धिहरू हासिल गरेको चर्चा गर्नुभयो।
वितरणमुखी परम्परागत ढाँचालाई पूर्णतः विस्थापित गर्दै नवप्रवर्तन, उत्पादन र सुशासनमा आधारित नीति ल्याइएको बताउँदै अध्यक्ष रोकायाले भन्नुभयो— “हाम्रा सामु विकराल बन्दै गएको युवा र पुँजी पलायन रोक्ने, गरिबी न्यूनीकरण गर्ने, शिक्षा, स्वास्थ्यमा गुणात्मक सुधार ल्याउने र पलाँतालाई पूर्ण रूपमा आत्मनिर्भर बनाउने प्रमुख चुनौतीहरू छन्, जसलाई हामी अवसरमा बदल्नेछौँ।”
“कृषि रूपान्तरण, समृद्धिको आधार” भन्ने नारासहित कृषि क्षेत्रलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाइने नीति पालिकाले लिएको छ।
कृषि तथा नर्सरी प्रवर्द्धन: “घरघरमा बगैंचा, गाउँमा हरियाली” अभियानअन्तर्गत स्थानीय स्तरमै उन्नत फलफूलका बिरुवा उत्पादन गर्न नर्सरी स्थापना गरिनेछ । बाँझो जमिन उपयोग नीति लागू गरी व्यावसायिक किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिइनेछ।
पकेट क्षेत्र विकास: “एक वडा एक उत्पादन, एक गाउँ एक पहिचान” अवधारणा अनुरूप व्यावसायिक कृषि पकेट क्षेत्र तोकी एकीकृत कृषि प्रणाली र रैथाने बालीको संरक्षण तथा बजारीकरणमा जोड दिइनेछ।
पशुसेवाका सबै कार्यक्रमलाई ‘अध्यक्षसँग पशुसेवा कार्यक्रम’ का रूपमा सञ्चालन गरिनेछ । पशुचौपायामा लाग्ने महामारीजन्य रोग नियन्त्रणका लागि गोबर, दूध र छाला परीक्षण गर्ने आधारभूत प्रयोगशाला सेवा सुरु गरिनेछ । भेटेरिनरी अस्पतालसँगको साझेदारीमा पूर्ण खोप कार्यक्रम चलाइनेछ भने सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने मानव मृत्यु शून्यमा झार्न रेबिजविरुद्धको खोप र बन्ध्याकरण सेवा निरन्तर गुडाइनेछ।
लघुउद्यम विकास कार्यक्रममार्फत नयाँ लघु उद्यमी सिर्जना गरिने र कर्णाली प्रदेशको उद्योग पर्यटन मन्त्रालयसँग मिलेर वृद्धिमुखी उद्यमशीलता रोजगारी कार्यक्रमलाई निरन्तरता दिइनेछ । स्थानीय वन पैदावार र जडीबुटीमा आधारित उद्योग स्थापनाका लागि लगानीकर्तालाई उचित वातावरण बनाइने नीतिमा उल्लेख छ।
पर्यटनतर्फ पलाँताका पर्यटकीय क्षेत्रहरूको पहिचानसहितको ‘पर्यटन पुस्तक’ प्रकाशन गरिनेछ र यसै आर्थिक वर्षभित्र मन्दिर, झरना, पदमार्ग र पार्क निर्माणका लागि विस्तृत गुरुयोजना (मास्टर प्लान) तयार पारिनेछ ।
शैक्षिक सुधार: पालिकाभित्रका सामुदायिक विद्यालयको परीक्षामा एकरूपता ल्याउन पालिकास्तरीय परीक्षा समिति गठन गरिनेछ । माध्यमिक विद्यालयहरूमा क्रमशः पुस्तकालय र कम्प्युटर ल्याब स्थापना गरिनेछ भने कम्तिमा एउटा विद्यालयलाई ‘स्मार्ट विद्यालय’ का रूपमा विकास गरिनेछ । आधारभूत विद्यालयका लागि ‘एक विद्यालय एक कम्प्युटर’ अभियान चलाइनेछ।
स्वास्थ्य र सामाजिक सुरक्षा: नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न “गर्भवती साक्षरता कार्यक्रम” र “No More Home Delivery” (शून्य गृह प्रसूति) नीति पूर्ण रूपमा लागू गरिनेछ । पलाँता अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री र औषधि परिपूर्ति गरी साधनसम्पन्न बनाइनेछ । बालविवाह र बालश्रम रोक्न कडा कानुन तथा कार्यविधि बनाइने प्रतिवद्धता नीतिमा छ।
गाउँपालिकाभित्रका भौतिक पूर्वाधारलाई व्यवस्थित गर्न “एक वडा एक सडक” को नीति अघि सारिएको छ । पालिकाको लाइफलाइनका रूपमा रहेको ‘बेल्केढुङ्गा-पुलाहाँ-राडुनेटा-छलाहाँ-उखाडी-जाँफे हुँदै ओदी जुम्ला जोड्ने सडक’ को स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारसँग विशेष समन्वय गरिनेछ । सिँचाइतर्फ “सिँचाइमा लगानी: खेतबारीमा पानी” अभियानमार्फत कुलो र नहरको सुधार गरिनेछ। वातावरणीय संरक्षणका लागि जनप्रतिनिधि र कर्मचारीको जन्मदिनमा अनिवार्य रूपमा “जन्मदिनमा वृक्षारोपण” गर्ने नीति पालिकाले अंगीकार गरेको छ।
सार्वजनिक सेवा प्रवाहलाई सरल र पारदर्शी बनाउन “डिजिटल पलाँता” कार्यक्रम सञ्चालन गरिनेछ. कर्मचारीको कार्यसम्पादन चुस्त बनाउन कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरिनेछ । न्यायिक समितिको कार्यलाई थप व्यवस्थित बनाउँदै मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गरिनेछ । साथै पालिकामा रहेका सम्पूर्ण सहकारीहरूलाई अनिवार्य रूपमा ‘कोपोमिस’ (COPOMIS) प्रणालीमा आबद्ध गराई चौमासिक अनुगमन गरिने भएको छ ।
गाउँसभाले पारित गरेको कुल ५१ करोड ६९ लाख ९३ हजार ९१ रुपैयाँ ८० पैसाको बजेटको स्रोतगत विवरण निम्न बमोजिम रहेको छ:
१. संघीय सरकारबाट प्राप्त हुने अनुदान (कुल रु. ४२ करोड ८४ लाख ३४ हजार):
वित्तीय समानीकरण अनुदान: रु. १० करोड ६७ लाख
सशर्त चालु तर्फ: रु. १७ करोड ३४ लाख
सशर्त पुँजीगत तर्फ: रु. २ करोड ५५ लाख
विशेष अनुदान तर्फ: रु. १ करोड
राजस्व बाँडफाँड तर्फ: रु. ११ करोड २८ लाख ३४ हजार
२. प्रदेश सरकारबाट प्राप्त हुने अनुदान (कुल रु. ६ करोड ६० लाख ५९ हजार ९१ रुपैयाँ ८० पैसा):
वित्तीय समानीकरण अनुदान तर्फ: रु. १ करोड ३४ लाख ५४ हजार
सशर्त चालु अनुदान तर्फ: रु. १५ लाख ९५ हजार
सशर्त पुँजीगत अनुदान तर्फ: रु. २ करोड ३० लाख
समपूरक अनुदान तर्फ: रु. २ करोड ६५ लाख
राजस्व बाँडफाँड तर्फ: रु. १५ लाख १० हजार ९१ रुपैयाँ ८० पैसा
३. आन्तरिक स्रोत (कुल रु. २ करोड २५ लाख):
अनुमानित आन्तरिक आय (आन्तरिक राजस्व): रु. २५ लाख
मौज्दात रकम (गत आवको अल्या): रु. २ करोड
ऐतिहासिक गाउँसभाको समापन गर्दै गाउँपालिकाका उपाध्यक्ष अलैपुरा जैसी, सबै वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत र राष्ट्रसेवक कर्मचारीहरूप्रति अध्यक्ष रोकायाले धन्यवाद ज्ञापन गर्नुभयो । नीति र बजेटको सफल कार्यान्वयनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र आम पलाँताबासी दाजुभाइ दिदीबहिनीहरूमा सहकार्यका लागि उहाँले हार्दिक अपिलसमेत गर्नुभएको छ ।