Loading

देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको जोखिम

देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको जोखिम

काठमाडौँ, ९ असार । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै देशका कतिपय भू-भागमा वर्षा, हिमपात र केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना औँल्याएको छ। महाशाखाले आज असार ९ गते बिहान ८:०० बजे जारी गरेको मौसम बुलेटिनअनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो लहर (लू) चल्ने सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा समेत तातो दिन हुन सक्ने देखिएको छ

आज दिउँसोको मौसमको अवस्था हेर्दा देशका हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। यसैगरी मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ भने सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमस्तरको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराईका थोरै स्थान र मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम प्रकृतिको वर्षा हुन सक्ने बुलेटिनमा उल्लेख छ

आज रातिको मौसममा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बदलीकै अवस्था रहने देखिन्छ। मधेस प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बदली रहनेछ। रातिको समयमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ

राति पनि वर्षा र हिमपातको क्रम आंशिक रूपमा जारी रहने पूर्वानुमान गरिएको छ। जसअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसममको वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम किसिमको वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार