वीरेन्द्रनगर, ८ असार । पूर्वअर्थमन्त्री समेत रहनुभएका रूपन्देही जिल्ला, बुटवल उपमहानगरपालिका वडा नं. ९ (हाल ललितपुर महानरपालिका वडा नं. २५, सैँबु आवास योजनामा बसोबास गर्ने) विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ पर्नुभएको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा २१ समेतका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुरले जारी गरेको जरुरी पक्राउ पूर्जीका आधारमा उहाँलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले कर्णाली प्रदेश प्रहरी कार्यालय (अपराध अनुसन्धान शाखा) लाई सम्बोधन गरी जारी गरेको आधिकारिक पत्रअनुसार, पौडेल हाल सुर्खेत जिल्लामा रहेको भन्ने बुझिएकाले खोजतलास गर्दै जाने क्रममा प्रहरीले उहाँलाई फेला पारेको हो। सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ स्थित शुभ होटलमा बसिरहेको अवस्थामा आज असार ८ गते साेमबार साँझ ठीक ५:१५ बजे प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसअघि विभागको आधिकारिक इमेलमार्फत पक्राउ पूर्जी संलग्न राखी पौडेललाई सुरक्षासहित उपस्थित गराइदिन सुर्खेत प्रहरीलाई पत्राचार गरेको थियो। सोही अनुरोध र कानुनी व्यवस्थाबमोजिम सुर्खेत प्रहरीले कानुनको रीत पुऱ्याएर उहाँलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई आवश्यक कारबाहीका लागि सकल कागजातसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायब निरीक्षक (प्र.नि.) श्यामप्रसाद यादवको जिम्मा लगाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको व्यहोरा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक बीरेन्द्रसिंह बोहराद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। यस घटनाको बोधार्थ नेपाल प्रहरी प्रधान कार्यालय (नक्साल) र नेपाल प्रहरी प्रदेश कार्यालय वीरेन्द्रनगर सुर्खेत (हाल नेपालगन्ज बाँके) लाई समेत दिइएको छ।