Loading

कर्णाली नदी जल पर्यटनको पर्खाइमा, व्यवसायी र लगानीकर्तालाई स्वागत गर्न आतुर: प्रजिअ सुयल

कर्णाली नदी जल पर्यटनको पर्खाइमा, व्यवसायी र लगानीकर्तालाई स्वागत गर्न आतुर: प्रजिअ सुयल

कालीकोट, ८ असार । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोकर्णराज सुयलले कर्णाली नदीमा जल पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याउँदै लगानीकर्ताहरूलाई लगानीका लागि आह्वान गर्नुभएको छ।

प्रमुख जिल्ला अधिकारी सुयलले सामाजिक सञ्जाल फेसबुकमार्फत कर्णाली नदीमा नुहाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य र यसले बोकेको व्यावसायिक सम्भावना उजागर गर्नुभएको हो। तस्बिर सँगै उहाँले भन्नुभएको छ, “कर्णालीको मज्जा छुट्टै। कर्णाली जल पर्यटनको सम्भावनाले व्यवसायी/लगानीकर्तालाई स्वागत गर्न आतुर देखिन्छ।”

नेपालकै सबैभन्दा लामो र आकर्षक नदीहरूमध्येको एक कर्णाली नदी जलयात्रा (र्याफ्टिङ), कायकिङ र अन्य साहसिक जल पर्यटनका लागि अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट मानिन्छ। स्थानीय प्रशासनको नेतृत्वबाटै कर्णालीको रैथाने पहिचान र जल पर्यटनको सम्भावनालाई यसरी प्राथमिकताका साथ प्रचार-प्रसार गरिनुले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा नयाँ उत्साह थपेको छ।

प्रजिअ सुयलको यो सकारात्मक सन्देशले आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्नुका साथै ओझेलमा परेको कर्णालीको साहसिक पर्यटन क्षेत्रमा निजी क्षेत्र र ठूला लगानीकर्ताहरूको ध्यान खिच्ने स्थानीयबासीले विश्वास लिएका छन्।  प्रजिअ सुयलले साेमबार कर्णाली नदी रहेकाे लालिघाट क्षेत्रमा पुगेर डिएसपी हिम बहादुर खत्री, काेष तथा लेखा अधिकृत टंक थापा , सहायक प्रजिअ जनक शर्मा  र स्थानीय युवा दमन बहादुर शाही संग नहाउदै रमाउदै गरेकाे फाेटाे सामाजिक संजाल फेसबुकमा पाेष्ट गर्दै  पर्यटकीय सम्भावनाकाे उजागर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार