काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ। शुक्रबार (आज) बिहान ८:०० बजे बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार सरकारले तोकेको समयावधि अगावै नतिजा प्रकाशन गरिएको हो। सरकारले परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए पनि बोर्डले सो समयभन्दा पहिल्यै नतिजा ल्याउन सफल भएको छ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा देशभरबाट कुल चार लाख १८ हजार १७० परीक्षार्थीहरू सहभागी भएका थिए। बोर्डका अनुसार कुल परीक्षार्थीहरूमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी रहेका थिए। सार्वजनिक मतपरिणाम अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थीहरू उत्तीर्ण भएका छन्।
परीक्षा बोर्डले पछिल्लो समय नतिजा प्रकाशनको कार्यलाई थप चुस्त बनाउँदै लगेको छ। यसअघि सरकारले एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा समेत बोर्डले मात्र २९ दिनभित्रै सार्वजनिक गरेर कीर्तिमान कायम गरेको थियो। सोही रफ्तारलाई कायम राख्दै बोर्डले कक्षा १२ को नतिजा पनि तोकिएको समय अगावै सार्वजनिक गरेको हो।