कालीकोट, ४ असार । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ। नगरपालिकाले बजेट निर्माणलाई थप समावेशी र जनमुखी बनाउने उद्देश्यका साथ नगर क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूलाई समेटेर एक बृहत् सर्वदलीय तथा सर्वपक्षीय बैठक आह्वान गरेको हो।
नगर कार्यपालिकाको कार्यालय, गाल्जे, कालीकोटले असार ३ गते एक पत्र जारी गर्दै आगामी असार ७ गते आइतबारका दिन दिनको ११:०० बजे नगरपालिकाको सभाहल गाल्जेमा उक्त बैठकको आयोजना गरिएको जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद काफ्लेद्वारा हस्ताक्षरित निमन्त्रणा पत्रमा नगरको विकास र समृद्धिका लागि अमूल्य सुझाव दिई बजेट निर्माण प्रक्रियामा सहयोग पुर्याउन अपिल गरिएको छ।
बैठकमा सहभागिताका लागि नगरपालिकाले बहुपक्षीय सरोकारवालाहरूलाई पत्राचार गरेको छ। निमन्त्रणा गरिएकाहरूमा माननीय प्रतिनिधि सभा सदस्य, कर्णाली प्रदेशका माननीय प्रदेश सभा सदस्य, पूर्व प्रतिनिधि सभा सदस्य, निवर्तमान नगर प्रमुख, निवर्तमान वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरू रहेका छन्। यसैगरी साबिकका गाउँ विकास समिति (फोइमहादेव, राँचुली, जुविथा, छाप्रे र चिल्खाया) का पूर्व अध्यक्षहरूलाई पनि आमन्त्रण गरिएको छ।
राजनीतिक नेतृत्वका अतिरिक्त सामाजिक र शैक्षिक क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न जुविथा, चिल्खाया र फोइमहादेवका माध्यमिक विद्यालयका वि.व्य.स. अध्यक्ष तथा प्रधानाध्यापकहरू, शिक्षक प्रतिनिधि राई बहादुर शाही, विकास साझेदार गैरसरकारी संस्थाका प्रमुख, नागरिक समाज, बजार व्यवस्थापन समिति, बाल सञ्जाल, महिला सञ्जाल तथा अपाङ्ग सञ्जालका प्रमुख एवं प्रतिनिधिहरूलाई समेत बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ। “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सञ्चार: समुन्नत तिलागुफाको लागि सबल स्थानीय सरकार” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस बैठकबाट आउने सुझावहरूले नगरको आगामी बजेटको प्राथमिकता निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास नगरपालिकाले लिएको छ।