सुर्खेत, ३ असार । राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेशको समग्र मानव अधिकारको अवस्था र विद्यमान चुनौतीका सम्बन्धमा सरोकारवालाहरूसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। आयोगका माननीय अध्यक्ष तप बहादुर मगरको उपस्थिति एवं आयोगका सचिव मुरारिप्रसाद खरेल र सहसचिव सम्झना शर्मासहितको उच्चस्तरीय टोलीको अनुगमन भ्रमणका क्रममा असार २ गते वीरेन्द्रनगर, सुर्खेतमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा आमन्त्रित अतिथि तथा सहभागीहरूले कर्णाली प्रदेशमा मानव अधिकारको रक्षा, कानुनी उपचारको पहुँच, र सीमान्तकृत समुदायका सवालहरूमा केन्द्रित भई आ-आफ्नो सल्लाह तथा सुझावहरू प्रदान गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरूले उठाएका जिज्ञासा तथा सरोकारका विषयहरूलाई आयोगका माननीय अध्यक्ष र सचिवले स्पष्ट पार्दै सम्बोधन गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै आयोगकी सहसचिव शर्माले उपस्थित सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्नुभएको थियो भने राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख रमेश कुमार थापाले कर्णाली प्रदेशको वर्तमान मानव अधिकारको अवस्था र विभिन्न समसामयिक विषयवस्तुहरूका बारेमा सहजीकरण गर्नुभएको थियो। उक्त कार्यक्रमको सञ्चालन मानव अधिकार अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले गर्नुभएको थियो।
अन्तरक्रियामा कर्णाली प्रदेशका बहुपक्षीय सरोकारवालाहरूको व्यापक सहभागिता रहेको थियो। कार्यक्रममा कर्णाली प्रदेश सभाका सामाजिक विकास समिति सभापति माननीय पूर्ण बहादुर खत्री, मुख्य न्यायाधिवक्ता कृष्ण बहादुर हमाल, प्रदेश सभाका सचिव डा. अर्जुन कुमार खड्का, र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव निधिराज न्यौपानेको उपस्थिति रहेको थियो। यसैगरी सुरक्षा निकायका तर्फबाट कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख ठाकुर प्रसाद पोखरेल लगायत अन्य अधिकृतहरूको सहभागिता थियो।
कानुनी र सामाजिक क्षेत्रबाट उच्च अदालत बार एशोसिएशनका अध्यक्ष हिमालयजंग शाही, जिल्ला बार एशोसिएशनका अध्यक्ष, मानव अधिकार रक्षक सञ्जाल सुर्खेतका संयोजक पीताम्बर ढकाल, र इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले कार्यक्रममा भाग लिनुभएको थियो। यसका साथै प्रदेश तथा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, महिला मानव अधिकार रक्षक सञ्जालका प्रतिनिधिहरू, यौनिक तथा अल्पसंख्यक, अन्तरलिङ्गी समुदायका व्यक्तिहरू, एकल महिला, र द्वन्द्व प्रभावित व्यक्तिहरू सहित कुल ७० जनाको उत्साहजनक सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।