सुर्खेत २ असार । कर्णाली प्रदेशमा बालविवाहको विद्यमान अवस्थालाई अन्त्य गर्न र हालै स्वीकृत ‘बालविवाह अन्त्य सम्बन्धी रणनीति, २०८२’ लाई व्यवहारमा उतार्नका लागि संसद्, सरकार र सरोकारवाला निकायहरूबीच एक महत्त्वपूर्ण प्रादेशिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले रणनीतिको सफल कार्यान्वयनका लागि सबै तहका सरकार, नागरिक समाज र सरोकारवालाहरूबाट पूर्ण सहयोग हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री भण्डारीले बालविवाह सामाजिक कलंक र विकासको बाधक भएकाले यसलाई जरैदेखि उखेल्न सरकार प्रतिवद्ध रहेको बताउँदै राज्यका हरेक संयन्त्रलाई यस अभियानमा जोडिन अपिल गर्नुभयो ।
कार्यक्रममा प्रदेश योजना आयोगका सदस्य माननीय अशाेक नाथ याेगी र प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो । आयोगका तर्फबाट रणनीतिको प्रभावकारी कार्यान्वयनका लागि योजनाबद्ध रूपमा अगाडि बढ्ने र आवश्यक स्रोत तथा समन्वयमा कुनै कसर बाँकी नराख्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको छ ।
यस महत्त्वपूर्ण कार्यशाला गोष्ठीको आयोजना CCR Karnali ले गरेको हो भने यसलाई प्लान नेपाल लगायतका अन्य विभिन्न साझेदार संस्थाहरूले प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्याएका थिए ।
गोष्ठीमा सहभागी प्रदेश सभा सदस्यहरू, सरकारी अधिकारीहरू तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले रणनीति कागजमा मात्र सीमित नभई स्थानीय तहसम्म पुगेर परिणाममुखी हुनुपर्ने धारणा राखेका थिए ।