Loading

उपप्रमुख र शिक्षा अधिकृतबीच विवाद: कार्यालय कक्षमै दुर्व्यवहार भएको भन्दै सेवा ठप्प, उपप्रमुखद्वारा काम नगरेको आरोप

उपप्रमुख र शिक्षा अधिकृतबीच विवाद: कार्यालय कक्षमै दुर्व्यवहार भएको भन्दै सेवा ठप्प, उपप्रमुखद्वारा काम नगरेको आरोप

 कालीकोट, २ असार । कालीकोटको खाँडाचक्र नगरपालिकाका नगर उपप्रमुख गणेश बहादुर शाही र शिक्षा अधिकृत (छैटौँ तहका शिक्षा अधिकृत) बलिराज शाहीबीच कार्यकक्षमै तीव्र विवाद उत्पन्न भएको छ । विवाद पश्चात शिक्षा अधिकृत बलिराज शाहीले नगर उपप्रमुखबाट आफ्नै कार्यकक्षमा गालीगलौज, अपशब्द प्रयोग र हातपातको प्रयास समेत भएको आरोप लगाउँदै शान्ति सुरक्षा र समस्या समाधान नहुँदासम्मका लागि सेवा प्रवाह स्थगित गरेका छन् ।

सोमबार कार्यालय समयमा कामकाज गरिरहेको बेला उपप्रमुखबाट अभद्र व्यवहार भएको दाबी गर्दै शिक्षा अधिकृत शाहीले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी आवश्यक कारबाहीका लागि निवेदन दिएका छन् । निवेदनमा उनले नियम विपरीतका र आफ्नो पदीय जिम्मेवारी भित्र नपर्ने विषयमा काम गर्न दबाब दिँदै पटक-पटक फोन र भेटमार्फत गुनासो गर्ने गरिएको र सोमबार भौतिक रूपमै कार्यकक्षमा आएर असुरक्षित वातावरण सिर्जना गरिएको उल्लेख गरेका छन् ।

नगर उपप्रमुखले छात्रवृत्ति कोष र आर्थिक वर्ष २०८१/०८२ को शिक्षण सहयोग अनुदान (सशर्त) शीर्षकको रकम असुल गर्ने विषयलाई लिएर आफूमाथि धम्की दिइएको र जीवन नै असुरक्षित महसुस भएकाले सेवा प्रवाह गर्न नसकिने ब्यहोरा निवेदनमा उल्लेख छ । अधिकृत शाहीले उक्त निवेदनको बोधार्थ नगर प्रमुख, उपप्रमुख र जिल्ला प्रशासन कार्यालय कालीकोटलाई समेत दिएका छन् ।

यता सोही विषयमा आफ्नो धारणा राख्दै नगर उपप्रमुख गणेश बहादुर शाहीले शिक्षा अधिकृतमाथि हातपात वा दुर्व्यवहार नगरिएको दाबी गरेका छन् । उपप्रमुख शाहीका अनुसार नगरपालिकाको शिक्षा शाखाले वार्षिक बजेटको २२ प्रतिशत पनि खर्च गर्न नसकेको, शिक्षा क्षेत्रतर्फ ठुलो परिमाणमा बेरुजु आउने गरी काम गरेको र आवश्यक कागजपत्र समेत पेश नगरी स्थायी शिक्षकहरूको तलब काटेर बेरुजु असुल गर्ने जस्ता गैरजिम्मेवार कार्य गरेकाले आफूले सोधपुछ मात्र गरेको स्पष्ट पारेका छन् । विद्यालयका बालबालिकाहरूको दिवा खाजाको रकम निकासा नगरिएको, सङ्घीय अनुदानको महत्त्वपूर्ण बजेट फ्रिज गराइएको र अहिलेसम्म सेनेटरी प्याड समेत खरिद नगरेर लापरबाही गरिएकाले आफू नियमनकारी भूमिकाको हैसियतले शिक्षा अधिकृतको कार्यकक्षमा पुगेर काम किन नभएको भनी जवाफ मागेको उपप्रमुख शाहीको भनाइ छ ।

नगरपालिकाभित्र जनप्रतिनिधि र कर्मचारीबीच उत्पन्न यस विवादले प्रशासनिक कामकारबाही प्रभावित बन्न पुगेको छ । यसै सन्दर्भमा खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राज जोशीले दुवै पक्षबीच देखिएको विवाद र असमझदारीलाई तत्काल सम्बोधन गरिने बताउनु भएकाे छ । प्रमुख प्रशासकीय अधिकृत जोशीले कार्यालयको सेवा प्रवाहलाई सूचारु गर्न र असमझदारी हटाउनका लागि आजै दुवै पक्षलाई राखेर आवश्यक छलफल एवं संवाद गरिने जानकारी दिनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार