कालीकोट ३१ जेष्ठ । नेपाल पत्रकार महासंघ, कालीकोट शाखाको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शाखा अध्यक्ष भरतराज बिष्टको अध्यक्षतामा आयोजित उक्त सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तुलाराम पाण्डे प्रमुख अतिथि, कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल विशेष अतिथि र डिएसपी हिमबहादुर खत्री अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। साधारण सभामा बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि समाजिक अभियान्ता र पत्रकारहरुकाे सकृय सहभागीता रहेकाे थियाे ।
सभाले सांगठनिक तथा आर्थिक सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ। महासंघका कोषाध्यक्ष विश्वनाथ सिम्खाडाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र सचिव रमेश कुमार बोगटीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शाखाका सदस्य स्व. वीरेन्द्र आचार्यको स्मृतिमा ‘वीरेन्द्र आचार्य स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय सर्वसम्मत पारित गरिएको छ। महासंघ शाखा कालीकोटमा हाल रहेका साधारण सदस्यहरूमध्ये निस्क्रिय रहेका सदस्यहरूको अवस्था सुधार गर्दै सदस्यता सुदृढीकरण गर्ने निर्णय पनि सभाले गरेको छ।
यस साधारणसभाले कालीकोटको पत्रकारिता जगत्मा थप व्यावसायिकता र सांगठनिक एकताको सन्देश प्रवाह गरेको छ।