Loading

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय: अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता हुने

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय: अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता हुने

काठमाडौँ  २९ जेष्ठ । झण्डै ३१ वर्षअघि तयार पारिएको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई सरकारले अन्ततः कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषद्को हालैको बैठकले सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै सो प्रतिवेदन कार्यान्वयन गर्ने र देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख राखी संरक्षण गर्ने निर्णय गरेको हो।

के छ मन्त्रिपरिषद्को निर्णयमा ?

मन्त्रिपरिषद्ले उक्त प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिएको छ। यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा तत्कालीन काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको १८५९ रोपनी १४ आना ३ पैसा ३ दाम सरकारी तथा सार्वजनिक जग्गा खाली गर्ने कानुनी बाटो खुलेको छ। साथै, अतिक्रमणकारीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही प्रक्रियासमेत अघि बढ्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आयोगको पृष्ठभूमि र प्रतिवेदन

तत्कालीन सरकारले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण र गैरकानुनी दर्ता रोक्न २०५० असोज २१ गते पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरेको थियो। आयोगले २०५२ सालमा आफ्नो प्रतिवेदन बुझाए पनि राजनीतिक र प्रशासनिक उदासीनताका कारण यो तीन दशकसम्म कार्यान्वयनमा आउन सकेको थिएन।

सर्वोच्चको आदेश र कार्यान्वयनको लामो यात्रा

प्रतिवेदन कार्यान्वयन नभएपछि २०६० सालमा अधिवक्ता प्रकाशमणि शर्मासमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै २०६७ जेठ १२ गते सर्वोच्चले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न र देशभरका सरकारी जग्गा अतिक्रमणबारे छानबिन गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो।

अतिक्रमणको अवस्था

रावल आयोगको प्रतिवेदनअनुसार, तत्कालीन समयमा काठमाडौँ महानगर क्षेत्रमा जम्मा १८,९४१ रोपनीभन्दा बढी सरकारी तथा सार्वजनिक जग्गा रहेकोमा करिब १० प्रतिशत अर्थात् १८५९ रोपनी जग्गा अतिक्रमणमा परेको थियो। ८,०९३ जना अतिक्रमणकारीहरूले २,०७० कित्ता सरकारी जग्गा निजी प्रयोजनमा उपभोग गरिरहेको अवस्था रहेको थियो।

विभिन्न सरकारहरूले यसलाई विभिन्न समितिहरू गठन गरेर अल्झाउँदै आएकोमा, नीति अनुसन्धान प्रतिष्ठानले पेस गरेको पछिल्लो अध्ययन प्रतिवेदन (२०८३) र प्रधानमन्त्रीको सचिवालयको गम्भीर चासोपछि सरकारले यो ऐतिहासिक निर्णय लिएको हो। यस निर्णयलाई राज्यको स्रोत, सुशासन र विधिको शासन स्थापित गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार