कालीकोट २८ जेष्ठ । अविरल वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्गको सुर्खेत-हुम्ला सडक खण्ड पुनः सञ्चालनमा आएको छ। २०८३ जेठ २६ र २७ गते परेको वर्षाले खुलालुदेखि लैयफुसम्मका विभिन्न स्थानमा पहिरो र लेदो खस्दा सडक पूर्ण रूपमा बन्द भएको थियो।
अवरुद्ध सडकको पहिरो हटाई हाल यातायात सेवा सुचारु गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ। यद्यपि, माथिल्लो भिरालो जग्गाबाट ढुंगा खस्ने जोखिम कायमै रहेको र सडक साँघुरो हुनुका साथै धेरै ठाउँमा एकतर्फी मात्रै भएकाले यात्रा गर्दा अत्यन्त सावधानी अपनाउन प्रशासनले सम्बन्धित सबैमा अनुरोध गरेको छ। यात्रुहरूलाई यात्रा गर्नुपूर्व मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा अघि बढाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।