कालीकोट २८ जेष्ठ । मंगलबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण कर्णाली करिडोरको कालीकोट खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। वर्षाले गर्दा नरहरिनाथ गाउँपालिकाको लालीघाटदेखि भौतेकुनासम्म, सान्नीत्रिवेणी गाउँपालिकाको रेगिंल खण्ड र पचालझरना गाउँपालिकाको घाटपारी खण्डमा पहिरो खसेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध हुँदा बुधबार बिहानैदेखि तीन सयभन्दा बढी यात्रु र एक सयभन्दा बढी सवारी साधन बाटोमै अलपत्र परेका छन्। कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीका अनुसार, तीन किलोमिटर सडक क्षेत्रमा लेदो बगेकाले पहिरो पन्छाउन निकै कठिनाइ भइरहेको छ। सडक खुलाउन बुधबार बिहानैदेखि डोजर परिचालन गरिएको भए पनि निरन्तरको वर्षाका कारण काम अघि बढ्न सकेको छैन। वर्षा नरोकिएसम्म सडक तत्काल सञ्चालन हुने सम्भावना नरहेको डिएसपी खत्रीले जानकारी दिएका छन्।
यस अवरोधका कारण रास्कोट, सान्नीत्रिवेणी, पचालझरनाका साथै बाजुरा र हुम्लाबाट सुर्खेततर्फ आउँदै गरेका र सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेका गाडीहरू ठाउँ-ठाउँमा रोकिएका छन्। यात्रामा रहेका बिरामी, परीक्षा दिने विद्यार्थी र अन्य यात्रुहरू लालीघाट, रैगिंल, सान्नीगाड र खुलालु जस्ता स्थानमा अलपत्र परेका छन्। लामो समयदेखि सडक बन्द हुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको छ, विशेषगरी बिरामी र वृद्धवृद्धाहरू बस्ने ठाउँको अभावमा थप मर्कामा परेका छन्।