काठमाडौँ २१ जेष्ठ । जग्गासम्बन्धी झन्झटिलो प्रशासनिक काम अब विगतको कथा बन्ने भएको छ। सेवाग्राहीले सामान्य कामका लागि पनि दिनभर घाममा उभिएर नापी कार्यालयका ढोका ढकढक्याउनुपर्ने बाध्यताको अन्त्य गर्दै नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सञ्चालनमा ल्याएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिमा रावलको उपस्थितिमा एक कार्यक्रमका बीच यो एप सार्वजनिक गरिएसँगै अब नागरिकले आफ्नो जग्गासम्बन्धी अधिकांश सेवाहरू घरको कोठाबाटै प्राप्त गर्न सक्ने भएका छन्।
नापी विभागले ल्याएको यो डिजिटल सेवाले सेवाग्राहीको समय र श्रम दुवैको बचत गर्ने अपेक्षा गरिएको छ। अब सेवाग्राहीले जग्गाको नक्सा प्रिन्ट गर्नेदेखि फिल्डबुक उतार, प्लट रजिस्टर उतार र फिल्ड रेखांकनका लागि समेत कार्यालयमा पुगेर आवेदन दिनुपर्ने छैन। प्रविधिको यो प्रयोगसँगै घरबाटै अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। आवेदन प्रक्रियालाई थप पारदर्शी र सरल बनाउन विभागले ओटीपी (OTP) प्रविधिको प्रयोग गरेको छ, जसले सेवाग्राहीलाई आफ्नो आवेदन कुन चरणमा छ र त्यसको अवस्था के छ भनेर मोबाइलबाटै नियमित जानकारी लिने सुविधा प्रदान गर्दछ।
त्यति मात्र होइन, सेवाका लागि कार्यालयमा नै पुगेर राजस्व बुझाउने पुराना शैलीलाई विस्थापित गर्दै विभागले भुक्तानी प्रक्रियालाई पनि पूर्ण रूपमा डिजिटल बनाएको छ। सेवाग्राहीले अब ई-सेवा, खल्ती र कनेक्ट आईपीएसजस्ता आधुनिक डिजिटल माध्यमबाट राजस्व भुक्तानी गर्न सक्नेछन्। फिल्ड रेखांकनजस्ता प्राविधिक सेवाका लागि लाग्ने राजस्व पनि अब अनलाइनबाटै सहजै चुक्ता गर्न सकिनेछ।
यदि सेवाग्राहीलाई कुनै अलमल भएमा वा थप जानकारी आवश्यक परेमा एपमै सम्बन्धित नापी कार्यालयका प्रमुख र सूचना अधिकारीको प्रत्यक्ष सम्पर्क नम्बरसमेत राखिएको छ, जसले गर्दा कार्यालयसँगको दूरी अझ नजिकिएको छ। यो सेवा मोबाइल एपका साथै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जानकारी दिएको छ। प्रविधिको यो फड्कोले नापी सेवामा सुशासन र पारदर्शिताको नयाँ युगको सुरुवात गर्ने विश्वास लिइएको छ।