काठमाडौँ १९ जेष्ठ । स्थानीय तहहरूमा जनसहभागिता र कानुनी प्रक्रियालाई लत्याउँदै असार मसान्तको मुखमा ‘बजेटको नाटक’ मञ्चन गर्ने प्रवृत्तिले सुशासनलाई गम्भीर चुनौती दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्धारण गरेको वार्षिक योजना तथा बजेट तर्जुमाका सात चरणबद्ध प्रक्रियालाई धेरैजसो स्थानीय तहले बेवास्ता गर्दै आएका छन्।
नियम अनुसार पुस मसान्तदेखि सुरु हुनुपर्ने बजेट तर्जुमाको प्रक्रिया र वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने ‘बस्ती तथा टोलस्तर योजना तर्जुमा’ जस्ता महत्वपूर्ण चरणहरू केवल कागजी प्रक्रियामा सीमित भएका छन्। जनप्रतिनिधिहरूले आम नागरिक, महिला, दलित, जनजाति र अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने संवैधानिक तथा कानुनी दायित्वलाई पूर्णतः उपेक्षा गरेका छन्।
जिल्ला र स्थानीय तहबाट आउने गुनासाहरूका अनुसार, अधिकांश पालिकामा असार १० गते रातिको समयमा सीमित जनप्रतिनिधि र पदाधिकारीहरू बसेर हतार-हतार बजेटको मस्यौदा तयार पार्ने र घोषणा गर्ने प्रचलनले जरो गाडेको छ। यस्तो कार्यशैलीले ‘बडा तहमा योजना छनोट तथा प्राथमिकीकरण’ गर्नुपर्ने र ‘विषयगत समिति मार्फत योजना एकीकरण’ गर्नुपर्ने प्रक्रियालाई खिल्ली उडाएको छ।
नियमतः बजेट तर्जुमा गर्दा स्थानीय आवश्यकताअनुसार योजना प्रस्ताव सङ्कलन गर्नुपर्ने हुन्छ, तर व्यवहारमा भने यसको उल्टो भइरहेको छ। पहुँच र शक्ति भएका ‘ठाठाबाठा’ र ‘ठूला बढा’हरूको प्रभावमा परेर योजनाहरू छनोट गरिँदा वास्तविक जनताको समस्या र आवश्यकताहरू योजनाको प्राथमिकतामा कहिल्यै पर्न सकेका छैनन्।
यसरी पारदर्शी र समावेशी विधिबाट बजेट बनाउनुको साटो असारको अन्तिम समयमा कार्यपालिकाबाट फटाफट स्वीकृत गराएर गाउँ/नगर सभामा पेस गर्ने प्रवृत्तिले स्थानीय सरकारको जवाफदेहितामाथि नै प्रश्नचिह्न खडा गरेको छ। सुशासन, पारदर्शिता र समावेशी सहभागिताको जगमा उभिनुपर्ने स्थानीय सरकारको यस्तो क्रियाकलापले ‘योजनाबद्ध विकास’को नारालाई समेत उपहास गरेको देखिन्छ।
के अब स्थानीय सरकारहरूले तोकिएको प्रक्रिया पालना गर्दै नागरिकको आवाजलाई बजेटमा समेट्ने आँट गर्लान्?