कालीकोट १९ जेष्ठ । जिल्ला प्रशासन कार्यालय कालीकोटले बिदाको दिनमा जथाभावी सरकारी सवारी साधन प्रयोग नगर्न जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय र स्थानीय तहहरूलाई कडा निर्देशन दिएको छ।
कार्यालयको काममा मितव्ययिता कायम गर्नुपर्नेमा कतिपय सरकारी सवारी साधनको नम्बर प्लेट सेतो नबनाइएको, सरकारी दर्ता नभएको र बिदाको दिनमा बिना अनुमति सवारी साधन प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रशासनले यस्तो निर्णय लिएको हो। नियमनकारी निकायबाट सवारी साधन नियन्त्रणमा लिएपछि मात्र पासका लागि प्रशासन धाउने प्रवृत्ति बढेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माद्वारा जारी सूचनामा अब उप्रान्त बिदाको दिन सवारी प्रयोग गर्नुपरे कार्यालय समयमै अनुमति लिन स्पष्ट पारिएको छ।
पछिल्लो समय इन्धन मूल्यमा भएको भारी वृद्धि र कार्यसम्पादनको चाप बढेको समय भएकाले सरकारी स्रोतको दुरुपयोग रोक्न र मितव्ययिता अपनाउन प्रशासनले जोड दिएको छ। अबदेखि अत्यन्त जरुरी र आकस्मिक अवस्थाबाहेक बिदाको दिन कुनै पनि सवारी अनुमति (पास) जारी नगरिने निर्णयसमेत प्रशासनले गरेको छ।