कालीकोट १५ जेष्ठ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर्णाली प्रदेशको विकासका लागि विशेष प्राथमिकताका साथ विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ। ‘कर्णाली चतुर्भुज’ को अवधारणादेखि दुर्गम भेगमा एयर एम्बुलेन्स सेवा र जडीबुटी प्रशोधन केन्द्रसम्मका योजनाहरूले कर्णालीको आर्थिक रूपान्तरणमा नयाँ आशा जगाएका छन् ।
‘कर्णाली चतुर्भुज’ र सडक पूर्वाधार बजेटमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्शुण्डोसम्मको क्षेत्रलाई समेटेर ‘कर्णाली चतुर्भुज’ को रूपमा विकास गरिने घोषणा गरिएको छ । यस क्षेत्रमा जडीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापलाई विशेष प्रोत्साहन गरिने उल्लेख छ । साथै, कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-जुम्ला-गमगढी सडकको स्तरोन्नतिको लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसका साथै कर्णाली कोरिडोरको स्तरोन्नति र जाजरकोटको मुलसामदेखि जुम्लाको टोपला सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने योजना पनि अघि सारिएको छ ।
स्वास्थ्य सेवामा फड्को: एयर एम्बुलेन्स कर्णालीका दुर्गम स्थानहरूमा आकस्मिक स्वास्थ्य सेवा पुर्याउन सरकारले एयर एम्बुलेन्स सेवा सुरु गर्ने घोषणा गरेको छ । दुर्गम भेगमा ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको तत्काल हवाई उद्धारका लागि छुट्टै रकम विनियोजन गरिएको छ । साथै, टेलिमेडिसिन सेवा विस्तार गरी भिडियो कन्सल्टेसनमार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्ने नीति लिइएको छ ।
कृषि र जडीबुटीको ब्राण्डिङ कृषि क्षेत्रको विकासका लागि कर्णालीमा स्याउ र ओखर लगायतका फलफूलको ‘जोन’ सञ्चालन गरिने भएको छ । यसका लागि चिस्यान केन्द्रको स्थापना कार्यलाई अगाडि बढाइनेछ । साथै, जडीबुटी र गैरकाष्ठ वन पैदावारको समर्थन मूल्य निर्धारण गरी खरिद गर्ने व्यवस्था मिलाइने तथा कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने उल्लेख छ ।
अन्य पूर्वाधार र सेवा
सञ्चार: कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ ।
पर्यटन: काँक्रेविहार-पञ्चकोशी-रारा सहित विभिन्न प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवर्द्धन गरिनेछ । दलित बस्तीलाई लक्षित गरी नमूना होमस्टे सञ्चालन गर्ने योजना पनि समेटिएको छ ।
सुशासन: कर्णाली, मधेश र सुदूरपश्चिम जस्ता प्रदेशका २५ जिल्लामा बालबालिकाका लागि पोषण भत्तालाई निरन्तरता दिइएको छ ।
विमानस्थल: सुर्खेत विमानस्थल विस्तार र मुगुको ताल्चा विमानस्थल स्तरोन्नति गरिने योजना बजेटमा छ ।
सरकारको यो बजेटले कर्णालीको भौगोलिक विकटतालाई प्रविधि र एकीकृत विकासको माध्यमबाट अवसरमा रूपान्तरण गर्ने लक्ष्य राखेको देखिन्छ।