कालीकोट १३ जेष्ठ। जिल्ला समन्वय समिति, कालीकोटले गणतन्त्र दिवस, २०८३ लाई हर्षोल्लास र भव्यताका साथ मनाउन विभिन्न कार्यक्रमहरू गर्ने निर्णय गरेको छ। समितिका का.वा. प्रमुख अजय बहादुर बमको अध्यक्षतामा बसेको बैठकले जेठ १४ र १५ गते दुई दिनसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो।
सरसफाइ अभियान: जेठ १४ गते बिहान ८ बजे मान्म बजारको जिरो पोइन्टदेखि प्रतिमा चोकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।
सांस्कृतिक कार्यक्रम: सोही दिन (जेठ १४ गते) देउडा र हुड्के नाचको आयोजना गरिने भएको छ। यसका लागि अजय बहादुर बमको संयोजकत्वमा व्यवस्थापन टोली गठन गरिएको छ।
प्रभात्फेरी र प्रवचन: जेठ १५ गते बिहान जिरो पोइन्टदेखि प्रतिमा चोकसम्म प्रभात्फेरी गरिनेछ। त्यसपश्चात प्रतिमा चोकमा विशेष प्रवचन तथा साहित्यिक सिर्जना वाचन कार्यक्रम हुनेछ।
रेडियो संवाद: गणतन्त्रको महत्त्व र वर्तमान भूमिकाबारे जिल्लाका विशिष्ट व्यक्तिहरूसँग रेडियो संवाद सञ्चालन गरिनेछ। यसको संयोजनका लागि पत्रकार विश्वनाथ सिम्खाडा र नेकपाका केन्द्रीय सदस्य लाल बहादुर मल्ललाई जिम्मेवारी दिइएको छ।
दिवसका अवसरमा जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, गैर-सरकारी संस्था र प्रतिष्ठानहरूलाई आ-आफ्नो भवनको छत, बरन्डा र परिसरमा राष्ट्रिय झण्डा राखेर सजावट गर्न तथा साँझ दीप प्रज्वलन गर्न अनुरोध गरिएको छ। साथै, महावै गाउँपालिका-२ मा रहेको ‘श्री पर्दिया फाउण्डेशन’लाई विशेष प्रवचन कार्यक्रममा आमन्त्रित गरिएको छ।
गणतन्त्र दिवसका कार्यक्रमहरू भव्य बनाउन विभिन्न कार्यालयहरूले आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ। जसमा:
खाँडाचक्र नगरपालिका: रु. १५,०००
खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय: रु. १०,०००
पशु अस्पताल तथा पशु सेवा कार्यालय: रु. ५,०००
सामाजिक विकास कार्यालय: रु. १०,०००
स्वास्थ्य सेवा कार्यालय: रु. १०,०००
जिल्ला समन्वय समिति कार्यालय: रु. २०,००० (ब्यानर, सम्मान पत्र र प्रमाणपत्र समेत)
समितिले कालीकोट जिल्लाका सबै स्थानीय तहहरूलाई पत्राचार गर्दै गणतन्त्र दिवसलाई आ-आफ्नो क्षेत्रमा भव्यताका साथ मनाउन आह्वान गर्ने निर्णय समेत गरेको छ।