सुर्खेत १० जेष्ठ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ स्थित प्रहरी चौकी बाङ्गेसिमलमा नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ठाकुर प्रसाद पोखरेलले विधिवत् रूपमा उक्त भवनको शिलान्यास गर्नुभएको हो। कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आर्थिक सहयोगमा प्रहरी चौकीको आफ्नै भवन निर्माण हुन लागेको हो।
भवन शिलान्यास समारोहमा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ र २ का वडाध्यक्षहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न समाजसेवी र स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
प्रहरी चौकीको आफ्नै भवन निर्माण भएपछि यस क्षेत्रको शान्ति सुरक्षा तथा प्रहरी सेवा प्रवाहमा थप सहजता आउने विश्वास लिइएको छ। भवन शिलान्यास गर्दै प्रहरी उपरीक्षक पोखरेलले सुरक्षित र व्यवस्थित भौतिक संरचनाले प्रहरीको कार्यसम्पादन क्षमतालाई अभिवृद्धि गर्न सघाउ पुर्याउने बताउनुभयो।
स्थानीय सरोकारवालाहरूले प्रहरी चौकीको नयाँ भवन निर्माण प्रक्रिया सुरु हुनुलाई यस भेगको सुरक्षा सुदृढीकरणका लागि सकारात्मक कदमका रूपमा लिएका छन्।