दैलेख ९ जेष्ठ। कर्णाली प्रदेश प्रहरी कार्यालयले अघि सारेको ‘एक चौकी एक रात’ कार्यक्रम अन्तर्गत पहिलो चरणको अनुगमन तथा निरीक्षण भ्रमण सुरु भएको छ। सोही अभियानको पहिलो दिन शुक्रबार कर्णाली प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटाले दैलेखस्थित प्रहरी चौकी रानीमत्ताको स्थलगत निरीक्षण गर्नुभएको छ।
प्रहरी सेवालाई थप चुस्त, प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यले सञ्चालित यस कार्यक्रमका क्रममा डीआईजी सापकोटाले रानीमत्ता प्रहरी चौकीको कार्यसम्पादनको अवस्था, भौतिक पूर्वाधार, सुरक्षा व्यवस्था र समुदायसँगको समन्वयका बारेमा जानकारी लिनुभएको थियो।
निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख सापकोटाले प्रहरी कर्मचारीहरूलाई नागरिकको सुरक्षा र सेवा प्रवाहमा कुनै पनि सम्झौता नगर्न निर्देशन दिनुभयो। उहाँले प्रहरी चौकीलाई जनस्तरमा विश्वसनीय बनाउन र अपराध नियन्त्रणमा थप सक्रियता अपनाउन समेत विशेष आग्रह गर्नुभयो।
कर्णाली जस्तो भौगोलिक रूपमा कठिन र दुर्गम क्षेत्रमा रहेका प्रहरी चौकीहरूको प्रत्यक्ष अवस्था बुझ्न, प्रहरी कर्मचारीको मनोबल बढाउन र स्थानीय तहमा शान्ति सुरक्षाको अवस्था सुदृढ गर्न यो कार्यक्रम फलदायी हुने प्रदेश प्रहरी कार्यालयको विश्वास छ।
दुर्गम क्षेत्रका प्रहरी चौकीमा खटिएका प्रहरीहरूको कार्यस्थलमै पुगेर उनीहरूका समस्या सुन्ने र कार्यसम्पादनमा देखिएका चुनौतीको स्थलगत रूपमै समाधान खोज्ने उद्देश्यले डीआईजी सापकोटाले आफैँ सहभागी भएर यो कार्यक्रम सुरु गर्नुभएको हो।