Loading

किताबखाना धाउनुपर्ने बाध्यता अन्त्य: हुलाकका हल्कारा रामजाली बने कालीकोटकै पहिलो ‘ई-पेन्सनर’

किताबखाना धाउनुपर्ने बाध्यता अन्त्य: हुलाकका हल्कारा रामजाली बने कालीकोटकै पहिलो ‘ई-पेन्सनर’

कालीकोट ५ बैसाख । जिल्लाको हुलाक सेवामा लामो समय योगदान पुर्‍याएर अवकाश हुनुभएका पाँचौँ तहका स्थायी कर्मचारी (हल्कारा) धनबहादुर रामजाली कालीकोट जिल्लाकै पहिलो ‘‘ई-पेन्सनर’’ (E-Pensioner) बन्नुभएको छ। उहाँले अवकाशपछिको निवृत्तिभरण (पेन्सन) सम्बन्धी सम्पूर्ण सेवा सुविधाका लागि काठमाडौँस्थित राष्ट्रिय किताबखानाको दैलो समेत नटेकिकन, आफ्नै गृह जिल्ला कालीकोटबाटै पूर्ण डिजिटल प्रणालीमार्फत सेवा प्राप्त गर्नुभएको हो।

दुर्गमका सेवाग्राहीले पेन्सन पट्टा बनाउन र कागजी प्रक्रिया मिलाउन महिनौँ लगाएर, हजारौँ रुपैयाँ खर्च गरी राजधानी धाउनुपर्ने सास्तीलाई यो नयाँ प्रविधिले सधैँका लागि अन्त्य गरिदिएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालय कालीकोटका लेखापाल पूर्णचन्द्र काफ्लेका अनुसार सम्बन्धित सरोकारवाला केन्द्रीय निकायहरूसँगको निरन्तर र विशेष समन्वयका कारण यो सेवा दुर्गम जिल्ला कालीकोटबाटै प्रवाह गर्न सम्भव भएको हो। सेवाग्राही किताबखानाको ढोकासम्म नपुगी, सम्बन्धित निकायसँगको समन्वयमा पहिलो पटक कालीकोटबाटै ई-पेन्सन सेवा लिन सफल भएकाे  लेखापाल काफ्लेले बताउनु भयो।

जिल्लामै बसेर नागरिकलाई राज्यको आधुनिक प्रविधिमा जोड्न र प्रशासनिक झन्झटमुक्त सेवा प्रवाह गराउन अग्रणी भूमिका निर्वाह गर्नुहुने कालीकोट कोलेनिका प्रमुखसहित, समन्वय गर्ने लेखापाल पूर्णचन्द्र काफ्ले र सम्पूर्ण कर्मचारीहरूको टिमलाई स्थानीय नागरिक तथा सेवाग्राहीहरूले धन्यवाद एवं आभार प्रकट गरेका छन्।

साथै, डिजिटल सेवा सुरु गराउने पहिलो भाग्यशाली अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारी धनबहादुर रामजाली पनि यस ऐतिहासिक र प्रविधिमैत्री उपलब्धिको साक्षी बन्नुभएको छ।

सिंहदरबार र केन्द्रीय निकायका सेवालाई सिधै स्थानीय स्तरमै पुर्‍याउने ‘डिजिटल नेपाल’ को सङ्कल्पलाई कालीकोट कोलेनिकाले व्यवहारमै प्रमाणित गरिदिएको छ। यस सफल सुरुआतसँगै अब आगामी दिनमा कालीकोटका अन्य अवकाशप्राप्त सरकारी कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मीहरूलाई समेत पेन्सनका काम सल्टाउन काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार