मान्म, कालीकोट ५ जेष्ठ । भौगोलिक रूपमा विकट र सडक दुर्घटनाको उच्च जोखिममा रहने कर्णाली राजमार्ग क्षेत्रमा सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले एक नवीन चेतनामूलक अभियान सुरु गरेको छ। “नेपाल प्रहरीको हर्ष, सडक दुर्घटना रहितको वर्ष” भन्ने मूल सङ्कल्पका साथ ट्राफिक प्रहरीहरूले सडक खण्डमै गाडीहरू रोकेर चालक, सहचालक र यात्रुहरूसँग सिधै संवाद तथा सचेतना कार्यक्रम गरिरहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोट र जिल्ला प्रहरी कार्यालय कालीकोटको संयुक्त आयोजनामा सञ्चालित यस अभियानमा “सडक अनुशासन पालना गरौँ, अमूल्य जीवनको रक्षा गरौँ” भन्ने नारालाई मुख्य प्राथमिकता दिइएको छ।
लामो तथा छोटो दूरीका सवारी साधनहरू चल्ने मुख्य नाका र बजार क्षेत्रमा खटिएका ट्राफिक प्रहरीहरूले विशेष गरी ४ वटा संवेदनशील विषयमा केन्द्रित रहेर चालक र यात्रीहरूलाई सम्झाई-बुझाई गरिएकाे प्रहरी सहायक निरिक्षक हेमराज अधिकारीले बताउनु भयाे ।
मोबाइल फोनको प्रयोगमा रोक: सवारी चलाउँदा चलाउँदै मोबाइलमा कुरा गर्ने वा म्यासेज गर्ने बानीले ठूला दुर्घटना निम्त्याउने हुँदा ‘सवारी चलाउँदा मोबाइल फोनको प्रयोग नगरौँ’ भनी सचेत गराइएको छ।
ट्राफिक नियमको पूर्ण पालना: सडकमा राखिएका सङ्केतहरू बुझ्न र ‘ट्राफिक नियमको पालना गरौँ’ भन्दै सुरक्षित रूपमा गति सीमित राख्न चालकहरूलाई निर्देशन दिइएको छ।
सडक चिह्नहरूको सही प्रयोग: सडकमा कोरिएका वा राखिएका विभिन्न ट्राफिक चिह्नहरूको सही पालना र प्रयोग गर्नका लागि ब्यानरमार्फत नै चिह्नहरूको अर्थ बुझाइएको छ।
छतको यात्रा र ओभरलोडिङमा कडाइ: पहाडी सडकमा गुड्ने सवारी साधनहरूमा ‘सवारीको छतमा बस्ने, झुण्डिने र कोचिएर यात्रा गर्ने’ कार्यलाई पूर्ण रूपमा निरुत्साहित गर्न यात्रुहरूलाई समेत सचेत पारिएको छ।
सडक अनुशासन कायम गर्न केवल प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै ट्राफिक प्रहरीले आकस्मिक समस्या वा नियम उल्लङ्घन भएको देखिएमा तुरुन्त प्रहरीको नियन्त्रण कक्ष (१००) वा सिधै जिल्ला ट्राफिक प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५८२२५१४४ मा फोन गरेर सूचना दिन अपिल गरेको छ।
यो अभियानले कर्णाली राजमार्ग र कालीकोटका आन्तरिक सडकहरूमा चल्ने सार्वजनिक तथा निजी सवारी साधनहरूमा अनुशासनको नयाँ थिति बसाल्ने र अकालमा हुने मानवीय क्षति कम गर्न ठूलो मद्दत पुर्याउने विश्वास स्थानीय सञ्चारकर्मी र नागरिकहरूले व्यक्त गरेका छन्।