पडेक्षा कालीकोट ३ जेष्ठ । “समृद्ध पचालझरना, हाम्रो चाहना” भन्ने मूल सङ्कल्पका साथ कालीकोटको पचालझरना गाउँपालिकामा गरिब घरपरिवार पहिचान तथा व्यवस्थापन प्रणाली (PHMIS) सम्बन्धी विशेष तालिम सुरु भएको छ। गाउँपालिका भित्रका वास्तविक गरिब परिवारको वैज्ञानिक तथ्याङ्क सङ्कलन गर्न खटाइने गणकहरूका लागि ३ दिने अभिमुखीकरण तालिम आयोजना गरिएको हो।
परम्परागत र अनुमानका भरमा गरिने वर्गीकरणलाई विस्थापित गर्दै गाउँपालिकाले यसपटक सफ्टवेयरमा आधारित ‘PHMIS’ प्रणाली अपनाउन लागेको गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश कठायतले बताउनु भयाे । यो ३ दिने सघन तालिम प्राप्त गरेपछि गणकहरू गाउँपालिकाका प्रत्येक वडा र टोलमा पुगेर पारिवारिक विवरण, आर्थिक अवस्था, आवासको स्थिति र रोजगारीको अवस्था जस्ता सूचकहरूका आधारमा डिजिटल डाटा सङ्कलन गर्नेछन्।
यस प्रणालीमार्फत सङ्कलन गरिने वास्तविक र पारदर्शी तथ्याङ्कले आगामी दिनमा गाउँपालिकालाई गरिब लक्षित स्वास्थ्य बिमा, छात्रवृत्ति, निःशुल्क सेवा तथा रोजगारमूलक योजनाहरू तर्जुमा गर्न ठोस मद्दत पुग्ने गाउँपालिका अध्यक्ष देवराज शाहीले बताउनु भयाे । तालिम उद्घाटन समारोहमा गाउँपालिकाका जनप्रतिनिधि, प्रशासनिक पदाधिकारी र प्रशिक्षार्थी गणकहरूको उपस्थिति रहेको थियो।