कालीकोट १ जेष्ठ ।कालीकोटमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. २ बस्ने २१ वर्षीय रमेश शाहीलाई प्रहरीले खाँडाचक्र नगरपालिकाको जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार, २०८२ साल भदौ २२ गते राति करिब ११ बजेको समयमा शुभकालिका–७ कै १८ वर्षीया एक किशोरी (परिवर्तित नाम ‘आ.व.०८२/०८३ संकेत ५९ (ट)’) माथि जबरजस्ती करणी भएको थियो। उक्त घटनापछि फरार रहेका शाहीको खोजतलासका लागि प्रहरीले विशेष टोली परिचालन गरेको थियो।
यसै क्रममा, आज (जेठ १ गते) बिहान १०:३० बजेको समयमा खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित जिरो प्वाइन्ट इलाकामा लुकिछिपी बसिरहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको हो। पक्राउ परेका शाहीलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश ज्ञवालीले दिएको जानकारी अनुसार, निज शाहीमाथि जबरजस्ती करणी सम्बन्धी कसूर (ज.ज.क) अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पछिल्लो समय कालीकोट प्रहरीले गम्भीर प्रकृतिका अपराधमा संलग्न भई फरार रहेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्रता दिएको छ।