कालीकोट ३१ बैसाख। कालीकोट जिल्लामा उपभोक्ताको हित संरक्षण र बजारमा पारदर्शिता कायम गर्न ‘मूल्य पारदर्शिता सप्ताह’ मनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरूको समन्वय बैठकले जेठ १ गतेदेखि लागू हुने गरी विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ । जिल्ला प्रशासन कार्यालयमा भएको उक्त बैठकले बजार व्यवस्थापन र उपभोक्ता अधिकारका सम्बन्धमा देहायका ४ बुँदे निर्णयहरू गरेको छ:
१. मूल्यसूची सार्वजनिक र अद्यावधिक: सबै प्रकारका खाद्य एवं गैर-खाद्य पदार्थहरूको मूल्य सार्वजनिक गर्ने र त्यसलाई समयसापेक्ष अद्यावधिक गरी पारदर्शिता प्रवर्द्धन गर्ने।
२. स्थानीय तहको नेतृत्वमा अनुगमन: सरोकारवाला सबैको सहभागितामा बजार अनुगमन गर्ने। यस कार्यमा स्थानीय तहले नेतृत्वदायी भूमिका निर्वाह गर्ने र कैफियत देखिएमा कडा कानुनी कारबाही गर्ने।
३. कानुनी कारबाही: प्रचलित कानुन बमोजिम बजार अनुशासन पालना नगर्ने उद्यमी तथा व्यवसायीलाई कानुनी दायरामा ल्याई कारबाही गर्ने।
४. प्रचार प्रसार: उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मी, सरकारी निकाय र आम नागरिकको सहभागितामा यस अभियानलाई सफल बनाउन व्यापक प्रचार प्रसार गर्ने।
प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलको अध्यक्षतामा भएको उक्त बैठकमा जिल्लाका विभिन्न सरकारी तथा सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागीहरुले बजारमा सार्वजनिक शाैचालय ब्यवस्थापन, खानेपानी समस्या समाधान, मासु पसलकाे स्वच्छता अनुगमन लगायतका बिषयमा आवाज उठाएका थिए ।
छलफल कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य अजय बहादुर बम, खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राज जाेशी, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, काेष नियन्त्रक टंक बहादुर थापा, उद्याेग तथा उपभाेक्ता हित संरक्षण कार्यालय प्रमुख श्रीबहादुर बिष्ट, सामाजिक बिकास कार्यालय प्रमुख अविराज शाही, उद्याेग बाणिज्य संघ कालीकाेट अध्यक्ष रतन बहादुर शाही स्वतन्त्र पत्रकार तुलाराम पाण्डे लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे थियाे ।
अभियानले कालीकोटको बजारमा हुने मनपरी मूल्य वृद्धि नियन्त्रण गर्न र उपभोक्तालाई सुलभ दरमा गुणस्तरीय वस्तु उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।