कालीकोट ३१ बैसाख। विश्व सडक सुरक्षा सप्ताह-२०८३ को सन्दर्भमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले सार्वजनिक सवारी साधनका यात्रु, चालक तथा सहचालकहरूलाई लक्षित गरी विशेष सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आज बिहिबार सञ्चालित यस कार्यक्रमले सडक अनुशासन र यात्रु सुरक्षाका विविध पक्षलाई समेटेको छ । कार्यक्रममा सार्वजनिक यातायातलाई आधुनिक र सुरक्षित बनाउन निम्न विषयहरूमा विशेष जोड दिइएको थियो ।
सवारी साधनहरूमा अनिवार्य रूपमा GPS प्रणाली र CCTV क्यामेरा जडान गरी सवारीको निगरानी र पारदर्शिता सुदृढ गर्ने ।
सार्वजनिक सवारीमा तोकिएको आरक्षण सिटको अनिवार्य कार्यान्वयन सुनिश्चित गर्ने ।
यात्रुहरूले सजिलै देख्ने गरी सवारी साधनमा भाडादर सूची स्पष्ट रूपमा टाँस गर्ने ।
मर्यादित व्यवहार र जिम्मेवार चालक दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकहरूलाई जिम्मेवार बनाउन कार्यक्रममा विशेष प्रशिक्षण दिइएको थियो । सवारी साधन सुरक्षित र जिम्मेवार ढङ्गले सञ्चालन गर्दै ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने । क्षमताभन्दा बढी यात्रु नओसार्ने र यात्रुहरूसँग सभ्य, शिष्ट एवं मर्यादित व्यवहार गर्ने ।
यस विशेष अभियानले सडक दुर्घटना न्यूनीकरण गर्न, ट्राफिक अनुशासन प्रवर्धन गर्न तथा यात्रुहरूको यात्रालाई सुरक्षित, सहज र भरपर्दो बनाउने लक्ष्य राखेको छ । कालीकोट जस्तो पहाडी जिल्लामा यस्ता सचेतनामूलक कार्यक्रमले सडक सुरक्षामा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।