Loading

रास्कोटमा नगर प्रहरीको दीक्षान्त समारोह: ४५ दिने आधारभूत तालिम सम्पन्न, दर्ज्यानी चिन्ह प्रदान

रास्कोटमा नगर प्रहरीको दीक्षान्त समारोह: ४५ दिने आधारभूत तालिम सम्पन्न, दर्ज्यानी चिन्ह प्रदान

रास्कोट ३० बैसाख । कालीकोटको रास्कोट नगरपालिकामा नगर प्रहरीहरूको क्षमता अभिवृद्धिका लागि सञ्चालन गरिएको ‘४५ कार्य दिनको नगर प्रहरी आधारभूत तालिम’ भव्य रूपमा समापन भएको छ। तालिम समापनसँगै आयोजित दीक्षान्त समारोहमा उत्तीर्ण नगर प्रहरीहरूलाई प्रमाण-पत्र वितरण र दर्ज्यानी चिन्ह (सुशोभन) प्रदान गरिएको छ।

रास्कोट नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय कालीकोटको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही र उप-प्रमुख मनिराज बरालको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा छिमेकी गाउँपालिकाका जनप्रतिनिधिहरूको समेत ऐक्यबद्धता रहेको थियो, जसमा सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन केसी र उपाध्यक्ष पार्वती सिंह सज्याल, तथा पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाही सहभागी हुनुहुन्थ्यो।

नगर प्रहरीहरूलाई अनुशासित र दक्ष बनाउने उद्देश्यले आयोजित यस समारोहमा कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी हिम बहादुर खत्री, अनुसन्धान अधिकृत, र रास्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश अधिकारीको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागिता थियो।

तालिम सफलतापूर्वक सम्पन्न गरेका नगर प्रहरीहरूलाई उपस्थित अतिथिहरूले दर्ज्यानी चिन्ह सुशोभन गराउनुभएको थियो। ४५ दिनसम्म चलेको कठिन प्रशिक्षणपछि दीक्षित भएका नगर प्रहरीहरू अब रास्कोट नगरपालिकाको आन्तरिक सुरक्षा, बजार व्यवस्थापन र स्थानीय कानुनको कार्यान्वयनमा खटिनेछन्।

नगर प्रमुख शाहीले तालिम प्राप्त नगर प्रहरीले नगरको शान्ति सुरक्षा र सेवा प्रवाहमा अनुशासित भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित अतिथिहरूले दीक्षित नगर प्रहरीहरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै प्रमाण-पत्र समेत हस्तान्तरण गर्नुभएको थियो।

जिल्ला प्रहरी कार्यालयसँगको प्राविधिक समन्वयमा सञ्चालित यो तालिमले स्थानीय सरकारको आफ्नै सुरक्षा संयन्त्रलाई थप सुदृढ र व्यावसायिक बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार