काठमाडौँ २८ बैसाख। सरकारले सूचना प्रविधि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्विकार्दै यसलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सफ्टवेयर निर्यात, आर्टिफिसियल इन्टेलिजेन्स (AI) र डिजिटल सेवामार्फत विदेशी मुद्रा आर्जन गर्ने नयाँ मार्गचित्र सार्वजनिक गरिएको हो ।
नेपाललाई ‘टेक हब’ र डिजिटल पूर्वाधारको विकास
सरकारले नेपाललाई विश्वकै सूचना प्रविधि गन्तव्य (Tech Hub) का रूपमा विकास गर्न उच्च क्षमताका पूर्वाधार निर्माण गर्ने भएको छ । देशका विभिन्न स्थानमा डिजिटल पार्क र उच्च क्षमताका डेटा सेन्टरहरू निर्माण गरिनेछ । सार्वजनिक डिजिटल पूर्वाधारको विकास गरी दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच विस्तार गरिने र ‘डिजिटल विभेद’ अन्त्य गरिनेछ । सूचना प्रविधि निर्यात गर्ने उद्योगहरूलाई वित्तीय सहुलियत, लगानी सहजीकरण र अनुसन्धान तथा नवप्रवर्तन (R&D) खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ ।
‘रिमोट वर्क’ र अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेलाई कानुनी मान्यता
नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने युवाहरूका लागि सरकारले पहिलो पटक कानुनी र वित्तीय बाटो सहज बनाउने भएको छ। विदेशी रोजगारदाताका लागि काम गर्न सकिने गरी ‘रिमोट वर्क नीति’ को कानुनी व्यवस्था गरिनेछ । विदेशी मुद्रा आर्जन र कर व्यवस्थापनलाई सरल बनाउन अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे (International Payment Gateway) लाई कानुनी मान्यता दिइनेछ । वैदेशिक रोजगारीबाट फर्केका युवाको डिजिटल सिपलाई ‘सिप पासपोर्ट’ (Skill Passport) मार्फत अभिलेखीकरण गरी व्यावसायिक प्रमाणीकरण गरिनेछ ।
१० हजार विद्यालयमा एआई (AI) र डिजिटल सिकाइ
शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन सरकारले ठूलो लगानी गर्ने योजना ल्याएको छ। आगामी वर्षभित्र दश हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्याइनेछ । ती विद्यालयहरूमा डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित सिकाइ प्रणाली विस्तार गरिनेछ । ई-लर्निङ, भर्चुअल कक्षा र खुला डिजिटल सामग्रीमार्फत शिक्षालाई रोजगारमुखी बनाइनेछ ।
डिजिटल सुशासन र ‘लाइनमुक्त’ सेवाको ग्यारेन्टी
नागरिकले पाउने सरकारी सेवालाई पूर्ण रूपमा झन्झटमुक्त बनाउन प्रविधिको उच्च प्रयोग गरिनेछ। ‘एक पटकको विवरण सबै सेवामा प्रयोग’ (Once-only) को सिद्धान्तका आधारमा एकीकृत सरकारी डाटाबेस विकास गरिनेछ । कम्तीमा एक सय सरकारी सेवाहरूलाई एकीकृत ‘नागरिक एप’ मार्फत घरबाटै लिन सकिने गरी उपलब्ध गराइनेछ । राहदानी, कन्सुलर र अध्यागमन सेवालाई पूर्ण रूपमा डिजिटलाइज गरी ई-गेट (E-gate) प्रणाली लागू गरिनेछ । डिजिटल हस्ताक्षर (Digital Signature) लाई अनिवार्य गरी सरकारी कार्यालयमा हुने लाइन र बिचौलियाको सास्ती अन्त्य गरिनेछ ।
साइबर सुरक्षा र नवप्रवर्तन
तथ्याङ्क र प्रविधिको सुरक्षाका लागि साइबर सुरक्षाका मापदण्डहरू कडा पारिने र साइबर सुरक्षा निर्यातलाई प्रवर्धन गरिनेछ ।वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिनेछ ।‘स्टार्टअप नेपाल पोर्टल’ मार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट र बिउ पुँजी (Seed Capital) उपलब्ध गराइनेछ ।
यो नीति तथा कार्यक्रमले सूचना प्रविधिलाई केवल सेवाका रूपमा मात्र नभई नेपालको ‘सीमारहित अर्थतन्त्र’ र ‘तौलरहित व्यापार’ को मुख्य आधारका रूपमा आत्मसात् गरेको छ । यसको सफल कार्यान्वयनले नेपाललाई सूचना प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अपेक्षा गरिएको छ ।