कालीकोट २८ बैसाख। सार्वजनिक बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गर्ने एक कर्मचारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। अनुमति पत्र (पास) नलिई लापरबाहीका साथ सरकारी मोटरसाइकल चलाएको आरोपमा खाँडाचक्र नगरपालिकाका कर्मचारी सुजन बहादुर शाही कारबाहीमा परेका हुन्।
आइतबार (वैशाख २७ गते) सार्वजनिक बिदाको दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले गरेको नियमित चेकिङका क्रममा भे १ ब ५६६ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेका शाहीलाई नियन्त्रणमा लिइएको थियो। बिदाको दिन सरकारी सवारी साधन चलाउन अनिवार्य रूपमा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि उनले बिना पास सवारी चलाएको पाइएको हो।
ट्राफिक नियम र सरकारी सवारी सञ्चालन निर्देशिका उल्लंघन गरेको भन्दै प्रहरीले उनलाई ५०० रुपैयाँ जरिवाना गरेको छ। साथै, उक्त मोटरसाइकललाई तत्काल नियन्त्रणमा लिई सम्बन्धित कार्यालय (खाँडाचक्र नगरपालिका) लाई नै बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
बिदाको दिन सरकारी सवारी साधनहरू व्यक्तिगत काम वा घुमफिरमा प्रयोग हुने गरेको जनगुनासो बढेपछि कालीकोट प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। सरकारी स्रोत र साधनको दुरुपयोग रोक्न यस्ता अभियानलाई निरन्तरता दिइने र नियम उल्लंघन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ।