दैलेख २८ बैसाख। जनताको विश्वास जितेर कुर्सीमा पुगेका जनप्रतिनिधि नै आर्थिक लेनदेन र चेक बाउन्स जस्तो गम्भीर विवादमा तानिएका छन्। दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाहीलाई बैंकिङ कसुरको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
के हो घटना ?
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार अध्यक्ष शाहीले एक स्थानीय व्यक्तिलाई दिएको ५ लाख रुपैयाँ बराबरको चेक बैंकबाट भुक्तानी हुन नसकी ‘बाउन्स’ भएको थियो। खातामा पर्याप्त मौज्दात नभएको जान्दाजान्दै चेक दिएर ठगी गरेको भन्दै पीडितले दिएको जाहेरीका आधारमा उनलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिइएको हो।
अनुसन्धान र म्याद थप
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष रोकायाले अध्यक्ष शाहीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पुष्टि गर्नुभएको छ। “उहाँमाथि लागेको बैंकिङ कसुरको आरोपमा थप अनुसन्धान गर्न अदालतबाट म्याद थप भइसकेको उहाँले जानकारी दिनुभयो। नेपाली कांग्रेसबाट निर्वाचित शाहीलाई पक्राउ गरिएसँगै स्थानीयस्तरमा जनप्रतिनिधिको नैतिकतामाथि प्रश्न उठ्न थालेको छ।
कानुनी प्रावधान र सन्देश
पछिल्लो समय अनाधिकृत चेक दिएर सर्वसाधारणलाई सास्ती दिने र आर्थिक धोकाधडी गर्ने प्रवृत्ति बढ्दै गएको छ। यो घटनाले राज्यको जिम्मेवार पदमा बसेका व्यक्तिले पनि आर्थिक लेनदेनमा इमानदारिता नदेखाए कानुनी कठघरामा उभिनुपर्छ भन्ने कडा सन्देश दिएको छ।
बैंकिङ कसुर प्रमाणित भएमा बिगो अनुसारको जरिवाना र जेल सजाय समेत हुने कानुनी व्यवस्था छ। यस घटनालाई दैलेख प्रहरीले गम्भीरतापूर्वक लिँदै पीडितको न्यायका लागि प्रक्रिया अगाडि बढाएको छ।