कालीकोट । कालीकोट जिल्लाको महाबै गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा एक महत्त्वपूर्ण फड्को मार्दै आफूलाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ भएको पालिका घोषणा गरेको छ। २०८३ वैशाख २७ गते गाउँपालिकाको केन्द्र गैराखाडामा आयोजित एक विशेष समारोहका बीच यो ऐतिहासिक घोषणा गरिएको हो।
गाउँपालिकाभित्रका १५ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरूले सरकारले तोकेका सबै खोपहरू पूर्ण रूपमा पाएको सुनिश्चित भएपछि यसलाई दिगो राख्ने सङ्कल्पसहित यो घोषणा सभा सम्पन्न भएको हो।
घोषणा कार्यक्रममा महाबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै वडाका वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय कालीकोटका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष गरी गाउँ–गाउँमा पुगेर खोप सेवा प्रवाह गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूको योगदानको उच्च कदर गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष खेमबहादुर सिहले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको र कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भन्ने कुरामा स्थानीय सरकार सधैं सचेत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेर मात्र नपुग्ने र यसलाई आगामी दिनहरूमा पनि निरन्तरता दिँदै दिगोपना कायम राख्नु नै मुख्य चुनौती र जिम्मेवारी रहेकोमा उहाँकाे भनाइ छ। यसै बिच गाउँपालिकाकाे कार्यालयले स्वयंसेविकाहरूकाे निशुल्क जीवन बीमा गरिदिने निर्णय समेत गरेकाे अध्यक्ष सिहले बताउनु भयाे ।
दुर्गम भूगोल र कठिन परिस्थितिका बावजुद महाबै गाउँपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य प्राप्त गर्नुले जिल्लाभर सकारात्मक सन्देश प्रवाह गरेको छ। यस घोषणासँगै गाउँपालिकाले नियमित खोप सेवाको पहुँचलाई थप सुदृढ बनाउने, स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउने र समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ।
उक्त अवसरमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूलाई सम्मान समेत गरिएको थियो। यो घोषणाले महाबैका बालबालिकाहरूको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै भविष्यमा स्वस्थ जनशक्ति निर्माणमा बलियो आधार तयार पारेको विश्वास गरिएको छ।