बिषेश रिपाेट
कर्णाली प्रदेशमा विकासको पर्याय मानिएको विद्युतीकरण पछिल्लो समय नागरिकका लागि ‘मृत्युपासो’ बन्दै गएको छ । प्रदेशका विभिन्न जिल्लामा विद्युतीय सुरक्षा मापदण्ड पालना नहुँदा र जीर्ण संरचनाका कारण ज्यान गुमाउनेको संख्या डरलाग्दो देखिएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय, वीरेन्द्रनगरको आधिकारिक तथ्याङ्क अनुसार विगत तीन वर्षको अवधिमा मात्रै कर्णालीमा करेन्ट लागेर ३३ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ को वैशाख २३ गतेसम्मको अवधिमा यी नागरिकले अकालमै ज्यान गुमाएका हुन् । यस अवधिमा अन्य ४ जना करेन्ट लागेर गम्भीर घाइते भएका छन् ।
प्रदेशको राजधानी समेत रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा जोखिमपूर्ण क्षेत्र देखिएको छ । कुल मृतक संख्याको करिब ४२ प्रतिशत अर्थात् १४ जनाको मृत्यु सुर्खेतमा मात्रै भएको छ । सहरीकरण र विद्युत्को बढ्दो प्रयोगसँगै वितरण प्रणालीलाई सुरक्षित बनाउन नसक्दा यहाँ धेरैले ज्यान गुमाउनु परेको देखिन्छ ।
तथ्याङ्क अनुसार सुर्खेतपछि रुकुम पश्चिममा ५ जना, सल्यान, जुम्ला र कालीकोटमा ४–४ जनाको मृत्यु भएको छ भने दैलेख र जाजरकोटमा १–१ जनाले ज्यान गुमाएका छन् । हिमाली जिल्लाहरू हुम्ला, मुगु र डोल्पामा भने यस अवधिमा मानवीय क्षति भएको छैन ।
विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानी मात्र नभई सरकारी निकाय र विद्युत् प्राधिकरणको चरम लापरबाही मुख्य जिम्मेवार देखिएको छ । २०८१ वैशाख २ गते जुम्लाको सिँजा–३ की १३ वर्षीया नविना गिरीको मृत्यु बिजुलीको तार चुँडिएर भएको थियो । त्यस्तै, २०८१ भदौ १५ गते जुम्लाकै ८४ वर्षीय गोरे रावतको मृत्यु विद्युत्को पोल छुँदा भएको थियो ।
यी प्रतिनिधि घटनाले कर्णालीमा नाङ्गो तार, होचा र जीर्ण पोलहरू नागरिकको टाउको माथि कति जोखिमपूर्ण रूपमा झुण्डिएका छन् भन्ने प्रष्ट पार्छ । मर्मत–सम्भारमा ध्यान नदिँदा सामान्य हावाहुरी चल्दा समेत तार चुँडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या विकराल छ ।
पछिल्लो तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा मृत्युदर घट्नुको साटो स्थिर वा बढ्दो क्रममा देखिन्छ । आर्थिक वर्ष २०८०/८१ मा १२ जनाको मृत्यु भएकोमा २०८१/८२ मा ९ जनाको मृत्यु भयो । तर, चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना नपुग्दै मृतकको संख्या पुनः १२ पुगिसकेको छ । यसले सुरक्षा सतर्कता र पूर्वाधार सुधारमा राज्यको लगानी र ध्यान पुग्न नसकेको संकेत गर्छ ।
अबको आवश्यकता भनेको केवल विद्युत् विस्तार मात्र नभई सुरक्षित वितरण प्रणाली हो । सुर्खेत जस्ता बढी जनघनत्व भएका जिल्लामा तत्काल ‘सेफ्टी अडिट’ गरी जीर्ण पूर्वाधार फेर्न ढिला भइसकेको छ ।
साथै, विद्यालय र समुदायस्तरमा विद्युतीय उपकरणको प्रयोग र जोखिमबारे सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिन्छ । विद्युत् प्राधिकरणले आफ्नो संरचनाका कारण हुने मानवीय क्षतिको जवाफदेहिता लिँदै पीडितलाई उचित राहत र संरचना सुधारमा तदारुकता देखाउनु पर्ने आजको मुख्य माग हो ।