कालीकोट २५ वैशाख । विद्यालयको आर्थिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउने उद्देश्यले कालीकोटको मान्ममा दुई दिने तालिम सम्पन्न भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ, मान्म, कालीकोटको आयोजनामा ‘विद्यालय लेखापालन तथा सार्वजनिक खरिदकर्ताका लागि २ दिने तालिम’ सञ्चालन गरिएको हो।
लेखापाल काफ्लेद्वारा सहजीकरण विद्यालयको लेखा प्रणालीलाई सरकारी मापदण्ड अनुसार व्यवस्थित गर्न आयोजित यस तालिमको सहजीकरण कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल पूर्णचन्द्र काफ्लेले गर्नुभएको थियो। तालिमका क्रममा विद्यालयका लेखापाल र सम्बन्धित कर्मचारीहरूलाई सार्वजनिक खरिद ऐनका प्रावधान, लेखा राख्ने सही तरिका र आर्थिक पारदर्शिताका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिमको मुख्य उद्देश्य
यस वर्षको वैशाख २४ र २५ गते सञ्चालन भएको यो तालिमले विद्यालयमा हुने खरिद प्रक्रियालाई विधिसम्मत बनाउन र लेखा व्यवस्थापनमा हुने त्रुटिहरू कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख हर्ष प्रसाद चाैलागाईले बताउनु भयाे।
शिक्षा विकास तथा समन्वय इकाइको सभाहलमा भएको उक्त कार्यक्रममा जिल्लाका नाै वटा पालिकाका नाैवटा विद्यालयका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सरकारी बजेट र विद्यालयको आन्तरिक स्रोतको सही सदुपयोगका लागि यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने तालिमका सहभागी दिब्यश्वर बरालले बताउनु भयाे ।