जाजरकोट, २४ वैशाख । नेपाल बाल मन्दिर जाजरकोटमा यस वर्षको नयाँ शैक्षिक सत्रको औपचारिक पठनपाठन आजदेखि सुरु भएको छ। २.६ वर्षदेखि ४ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी शैक्षिक कार्यक्रमको शुभारम्भ गरिएको हो।
संस्थामा पहिलो पटक पाइला टेकेका स-साना बालबालिकाहरूलाई विद्यालयको वातावरणमा घुलमिल गराउन विशेष स्वागत कार्यक्रम आयोजना गरिएकाे स्थानीय हेमन्त कुमार खत्रीले बताउनु भयाे। पहिलो दिन विद्यालय आएका सबै बालबालिकाहरूलाई कपि, पेन्सिल र मिठाई वितरण गरिएको छ। उपहार र मिठाई पाउँदा बालबालिकाहरूको मुहारमा छुट्टै चमक देखिएको थियो।
घरपछिको पहिलो पाठशालाको रूपमा मानिने बाल मन्दिरमा बालबालिकाहरूको प्रारम्भिक विकास र सिकाइलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ। रमाइलो वातावरणमा पठनपाठन सुरु भएसँगै अभिभावकहरूले पनि आफ्ना बालबालिकालाई ढुक्क भएर पठाउन थालेका छन्।
भर्खरै बोल्न र खेल्न सिक्दै गरेका नानीबाबुहरूका लागि जाजरकोट बाल मन्दिरले सुरु गरेको यो प्रयासले उनीहरूको जग बलियो बनाउने विश्वास गरिएको छ।