काठमाडौँ, २१ वैशाख । सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदीकिनार र सरकारी जग्गामा भएको अवाञ्छित अतिक्रमण हटाउन सरकार पछि नहट्ने स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्री शाहले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत एक विशेष जानकारी सार्वजनिक गर्दै भूमिहीन व्यवस्थापनका नाममा भइरहेका भ्रम चिर्ने प्रयास गर्नुभएको हो।
प्रधानमन्त्रीको घोषणा: कानुनी अवरोध अब इतिहास
प्रधानमन्त्री शाहका अनुसार भूमिहीन र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानमा अवरोध पुर्याइरहेका ‘भूमिसम्बन्धी ऐन, २०२१’ का केही दफाहरूलाई अध्यादेशमार्फत खारेज गरिएको छ। “दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ,” प्रधानमन्त्रीले भन्नुभएको छ।

अतिक्रमण हटाउने मात्र होइन, आवास सुनिश्चित गर्ने लक्ष्य
प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ कि सरकारको उद्देश्य नागरिकलाई हटाउने मात्र नभई उनीहरूको सुरक्षित आवास सुनिश्चित गर्ने पनि हो। प्रधानमन्त्री शाहको स्टाटसका मुख्य बुँदाहरू:
डिजिटल लगत संकलन: कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीनहरूको पहिचानका लागि डिजिटल लगत संकलन र विवरण प्रमाणीकरण सुरु गरिएको छ।
सुरक्षित स्थानान्तरण: ज्यान जोखिममा राखेर असुरक्षित स्थानमा बसिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गरिनेछ।
भ्रमको खेती नगर्न आग्रह: भूमिहीनहरूको उठिबास हुने भनी नियोजित रूपमा त्रास फैलाउने र भ्रम फैलाउने सूचनालाई सरकारले गम्भीरतापूर्वक लिएको र त्यस्ता अपुष्ट सूचनाको पछि नलाग्न प्रधानमन्त्रीले अनुरोध गर्नुभएको छ।
“कोही पनि नागरिक घरबारविहीन हुने छैन”
प्रधानमन्त्री शाहले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको र कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने दृढता व्यक्त गर्नुभएको छ। यो प्रक्रियाबाट वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधान निकाल्ने दिशामा सरकार अघि बढिसकेको उहाँको भनाइ छ।