Loading

मन्त्रालयको कडा एक्सन: ७ दिनभित्र हाजिर नभए सरुवा भएका कर्मचारीलाई कारबाही गरिने

मन्त्रालयको कडा एक्सन: ७ दिनभित्र हाजिर नभए सरुवा भएका कर्मचारीलाई कारबाही गरिने

काठमाडौँ, १६ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएर पनि तोकिएको स्थानीय तहमा हाजिर हुन नजाने कर्मचारीहरूलाई ७ दिनभित्र कार्यक्षेत्रमा पुग्न अन्तिम चेतावनी दिएको छ। मन्त्रालयले आज एक अत्यन्त जरुरी सूचना जारी गर्दै अटेर गर्ने कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

सेवा प्रवाहमा गम्भीर असर

मन्त्रालयको २०८२ चैत १९ गतेको निर्णयअनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका कर्मचारीहरू हालसम्म पनि हाजिर नभएको पाइएको छ। यसले गर्दा विभिन्न स्थानीय तहको सेवा प्रवाहमा गम्भीर असर परेको भन्दै निरन्तर गुनासो आएपछि मन्त्रालयले यो कडा कदम चालेको हो।

कानुनी प्रावधानको स्मरण

मन्त्रालयले निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा सरुवा भएको कार्यालयमा जानुपर्ने र बहाली म्याद सम्बन्धमा प्रष्ट व्यवस्था रहेको कुरा स्मरण गराएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ (४) बमोजिम खटिएका कर्मचारीहरूले अबको ७ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहमा हाजिर हुनुपर्नेछ।

साथै, मन्त्रालयले रमना दिने निकायहरूलाई पनि समयमै रमना उपलब्ध गराई आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ। यो निर्देशनपछि कालीकोटको शुभकालिका र महावै लगायतका पालिकामा खटिएका तर हालसम्म नआएका कर्मचारीहरू कार्यक्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार