धुलिखेल (काभ्रे) । ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (National ICT Day 2026)’ को अवसरमा काभ्रेमा बढ्दो साइबर अपराध र अनलाइन सुरक्षाका चुनौतीबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। काभ्रे लेडी जेसिजको आयोजना तथा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ काभ्रे शाखाको प्राविधिक सहयोगमा जेसिज सचिवालयमा सो कार्यक्रम आयोजना गरिएको हो।
पछिल्लो समय डिजिटल साक्षरतासँगै साइबर असुरक्षाको जोखिम पनि बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै “साइबर सेक्युरिटी एण्ड अनलाइन सेफ्टी (Cyber Security and Online Safety)” विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरिएको छ। कार्यक्रममा सहभागीहरूलाई इन्टरनेटको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, सामाजिक सञ्जालमा हुनसक्ने ठगी र व्यक्तिगत विवरण (Data) सुरक्षित राख्ने उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
क्यान महासंघ काभ्रेका प्राविधिक विज्ञहरूले डिजिटल युगमा प्रविधिको प्रयोग अपरिहार्य भए पनि यसको गैरजिम्मेवार प्रयोगले व्यक्ति र समाजलाई ठूलो क्षति पुर्याउन सक्नेतर्फ सचेत गराएका थिए। अनलाइन सपिङ, डिजिटल बैंकिङ र सामाजिक सञ्जाल चलाउँदा देखिने साना साना कमजोरीले कसरी गम्भीर साइबर अपराध निम्त्याउँछ भन्नेबारे व्यवहारिक उदाहरणहरू प्रस्तुत गरिएको थियो।
सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यका साथ सम्पन्न यस कार्यक्रममा काभ्रे लेडी जेसिजका पदाधिकारीहरू, विभिन्न क्षेत्रका युवा तथा प्रविधि क्षेत्रमा चासो राख्नेहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले डिजिटल संसारलाई सुरक्षित र भरपर्दो बनाउन नागरिकस्तरबाटै सचेतनाको आवश्यकता रहेको सन्देश प्रवाह गरेको छ।
आयोजकले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्राविधिक साझेदार क्यान महासंघ काभ्रे र उपस्थित सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।