Loading

अपाङ्गता भएका बालबालिकाका लागि खाँडाचक्रमा निःशुल्क घुम्ती शिविर बस्दै

अपाङ्गता भएका बालबालिकाका लागि खाँडाचक्रमा निःशुल्क घुम्ती शिविर बस्दै

मान्म (कालीकोट), १४ वैशाख । खाँडाचक्र नगरपालिकाले शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको स्वास्थ्य परीक्षण, उपचार र पुनःस्थापनाका लागि एक दिने निःशुल्क घुम्ती शिविर आयोजना गर्ने भएको छ। नगरपालिकाको आयोजना, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) बनेपाको प्राविधिक सहयोग र जिल्ला अस्पताल कालीकोटको समन्वयमा यो शिविर सञ्चालन हुन लागेको हो।

नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै आगामी वैशाख २७ गते स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल कालीकोटमा बिहान ९:०० बजेदेखि शिविर सुरु हुने जानकारी दिएको छ। शिविरमा १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको विशेषज्ञ डाक्टरहरूद्वारा जाँच गरिनेछ।

कुन-कुन समस्या भएकाले सेवा लिन पाउने ?

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जसी प्रसाद चौलागाईका अनुसार शिविरमा विशेष गरी जन्मजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको (क्लब फुट), आगोले पोलेर अङ्गहरू टाँसिएको, भाँचिएर हड्डी नजोडिएको वा खुट्टा लुलो र कमजोर भएका बालबालिकालाई प्राथमिकता दिइनेछ। यसका साथै ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू दुख्ने र सुन्निने समस्या भएका, हड्डी पाकेर पिप आउने, ओठ तथा तालु फाटेका र कृत्रिम अङ्गको आवश्यकता भएका बालबालिकाहरूले पनि शिविरबाट लाभ लिन सक्नेछन्।

नगरपालिकाले सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरूलाई आफ्नो क्षेत्रमा रहेका यस्ता बालबालिकाहरूलाई शिविरमा पठाउन र व्यापक प्रचारप्रसार गर्न अनुरोध गरेको छ। आर्थिक अभाव वा पहुँचको कमीले उपचार नपाएर बसेका बालबालिकाहरूका लागि यो शिविरले नयाँ जीवन दिने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार