मान्म (कालीकोट), १४ वैशाख । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्ममा मुख्य कार्यालय रहेको हिमचुली कृषि सहकारी संस्था लिमिटेडले आफ्नो कार्यालय समयमा परिवर्तन गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय र संस्थाको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नयाँ समय तालिका लागू गरिएको हो।
संस्थाका सहायक व्यवस्थापक रुपेन्द्र ऐडीका अनुसार अब आइतबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९:०० बजे खुल्नेछ र अपराह्न ५:०० बजेसम्म निरन्तर सेवा प्रवाह हुनेछ। यो नयाँ समय तालिका वैशाख ७ गतेदेखि नै लागू भइसकेको संस्थाले जनाएको छ।
सहकारीले शनिबार बाहेक साताको ६ दिन नै आफ्ना सबै सेवा केन्द्रहरूबाट सदस्यहरूलाई वित्तीय तथा अन्य सेवा उपलब्ध गराउनेछ। कार्यालय समय थपिएसँगै सेयर सदस्य र बचतकर्ताहरूलाई कारोबार गर्न थप सहज हुने विश्वास संस्थाले लिएको छ। “समृद्ध समुदाय, दिगो सहकारी” भन्ने नाराका साथ सञ्चालित यस सहकारीले कालीकोटका विभिन्न स्थानमा सेवा केन्द्रहरू मार्फत आफ्नो उपस्थिति जनाउँदै आएको छ।